वालिङका कृषकलाई ६२ वटा भैंसी वितरण

प्रकाशित मिति:

तोलाकान्त बगाले , वालिङ, ८ साउन । स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकहरुलाई भैंसी वितरण गरेको छ । नगरभित्रका वडा नं. ९, १३ र १४ का ३३ कृषकहरुलाई ब्यवसायिक दूध उत्पादन प्रवद्र्धन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत ६२ वटा भैंसी वितरण गरेको हो ।

उक्त कार्यक्रमका लागि पशु सेवा शाखाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारी अन्तर्गत रु. २६ लाख ४५ हजार र कृषकहरुको ५० प्रतिशत लागत साझेदारीमा करीब रु. ५३ लाख लागेको हो ।भैंसीपालनका लागि संभावित ठाउँ तथा कृषकहरुको मागका आधारमा तीन वटा वडा छनौट गरी माउ भैंसी वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।परम्परागतरुपमा भैंसीपालन गर्दै आउनुभएका कृषकहरुलाई आधुनिक तरिकाले उन्नत जातका भैंसीपालनतर्फ आकर्षित गरी वालिङलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले भैंसी प्रवद्र्धन कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।

“परम्परागतरुपमा भैंसीपालन गर्दा फाईदा नहुने भएकाले ब्यवसायिकतामा जोड दिंदै कृषकको आर्थिकस्तर सुधार्नका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु” उहाँले भन्नुभयो, “पशुपालनमा ब्यवसायिकता हुँदै गर्दा दूधमा आत्मनिर्भर हुने र कृषकहरुमा थप ब्यवसायिकतातर्फ उर्जा तथा उत्प्रेरणा थपिने छ ।”नगरपालिकाले माग गरेको आवेदनका आधारमा कृषकहरुले ५० प्रतिशत लागत साझेदारीमा उन्नत मुर्रा क्रस जातका भैंसी खरीद गर्नुभएको पशु शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।हाल तीनवटा वडामा सञ्चालन भएको भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत केही कृषकले दुई वटा र केही कृषकले एउटाका दरले भैंसी खरीद गरेका डा. अधिकारीले बताउनुभयो ।

परम्परागत तरिकाले निर्वाहमुखीभन्दा पनि कृषकहरुलाई ब्यवसायिकतामा जोड दिनका लागि नगरपालिकाले नीति तथा कार्यक्रममा नै कृषिलाई प्राथमिकतामा राखेकाले सोही अनुसार कार्य अगाडि बढाएको हो ।कृषकहरुको मागका आधारमा अनुदान, लागत साझेदारीमा विभिन्न सहयोगहरु उपलब्ध गराउँदै आएका छौं” डा. अधिकारीले भन्नुभयो, “यसका अलावा समयानुसार तालीम, प्राविधिक सहयोग, घाँस तथा अत्याधुनिक औजार तथा उपकरणहरु सहयोग गरिएको छ ।