बन्जीजम्प गर्ने क्रममा युवतीको मृत्यु, गलत इशारामा डोरी नबाँधीकनै हाम्फालेकी थिइन्

प्रकाशित मिति:

काठमाडौँ । बन्जी जम्प गर्ने क्रममा एक युवतीको ज्यान गएको छ । बन्जीको डोरी नै नबाँधीकन ती युवतीले हाम्फालेपछि उक्त दुःखद घटना भएको हो । घटना कोलम्बियाको हो । साहसिक खेल मानिने बन्जी जम्प पछिल्लो समय युवाहरुमाझ लोकप्रिय छ । तर, सावधानी नअपनाउँदा मनोरञ्जनको साटो मृत्यु प्राप्त हुने कुरा गएको आइतबार घटेको कोलम्बियाको उक्त घटनाले पुष्टि भएको छ ।

समाचार एजेन्सीहरुको अनुसार कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसेनियामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरालेस नामकी युवतीको मृत्यु भएको हो । बन्जीजम्पको क्रममा उनले बन्जी कर्ड बाँध्नुपूर्व नै झुक्केर हाम्फालेको पाइएको डेली मेलले जनाएको छ ।उनी बन्जी हान्ने पुलमाथि बन्जीको तयारी गर्दै गरेको अवस्थामा प्रशिक्षकको एक इशाराबाट भ्रमित उनले हाम्फालेकी थिइन् । उनी करिब १५० फिट तल खसेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ । तत्कालै उद्धारकर्मीहरु घटनास्थल पुगे पनि युवतीको हावामै मृत्यु भइसकेको बताइएको छ ।

मेडिकल रिपोर्टका अनुसार खसेकै कारण नभएर हृदयघातका कारण उनको मृत्यु भएको पुष्टि भएको छ । बन्जी कर्ड ९डोरी० नबाँधीकनै हाम्फालेपछि उनी झल्याँस्स हुँदै आफूसँग उक्त बन्जी कर्ड नजोडिएको थाहा भएको हुन सक्ने र सोही कारण हृदयघात भएर उनको मृत्यु भएको हुनसक्ने रिपोर्टमा जनाइएको छ । भएको के रहेछ भने बन्जी जम्पको लाइन रहेका उनका प्रेमी उनीभन्दा अगाडि थिए र प्रेमीलाई नै बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फाल्ने संकेत गरेका रहेछन् । तर संकेत युवतीले आफ्ना लागि पनि हो भन्ने बुझेर हतारमै हाम्फालिनछन्, जबकि उनको खुट्टामा डोरी नै बाँधिएको थिएन । युवती तल खसेपछि उनका प्रेमी तत्कालै उक्त ठाउँमा पुगेर बचाउने कोसिस गरेको भए पनि असफल भएको बताइएको छ । – एजेन्सीहरूको सहयोगमा