कांग्रेसका वडा अधिवेशनहरू स्थगित,

प्रकाशित मिति:

काठमाडौं, साउन ९ : कांग्रेसका वडा तहका अधिवेशन स्थगित भएका छन् । १२ साउनका लागि तोकिएका वडा अधिवेशन तत्काललाई स्थगित गर्ने निर्णय शनिबार सम्पन्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले गरेको हो ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार वडा तहका अधिवेशन कहिले गर्ने भन्ने निर्णय भने हुन बाँकी छ । १२ साउन बिहान ९ बजे क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन पेश गर्ने र त्यसपछि बस्ने केन्द्रीय समिति बैठकले वडा अधिवेशनको नयाँ मिति तय गर्ने प्रवक्ता शर्माले काठमाडौं प्रेसलाई जानकारी दिए ।

उनका अनुसार वडाभन्दा माथिल्लो तहका अधिवेशनबारे शनिबारको बैठकबाट कुनै निर्णय भएको छैन । तथापि, वडा अधिवेशन स्थगित हुँदा केन्द्रीय महाधिवेशनको मितिसमेत प्रभावित हुने सम्भावना देखिन्छ ।कांग्रेसले १२ साउनमा वडा, १६ साउनमा पालिका र २० साउनमा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन गर्ने तालिका बनाएको थियो ।यस्तै, २३ साउनमा प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र र २६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन गर्ने तालिका छ । प्रदेश अधिवेशन १–२ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका छ ।