लगानीकर्ताको आकर्षण बैंकमा , नेप्सेले बनायो अल टाइम हाइ रेकर्ड

प्रकाशित मिति:

काठमाडौं : सेयर बजारले अल टाइम हाइ रेकर्ड बनाएको छ । नेप्से सूचक आइतबार ५४.३१ अंकले बढेर ३०५८.६३ विन्दुमा आइपुगेपछि अहिलेसम्मका सबै उच्चतम रेकर्डहरु ब्रेक गर्न सफल भएको हो । यअसघि बजार बन्द हुँदा नेप्से गत जेठ ३१ गते ३०२५.८३ विन्दुसम्म पुगेको थियो । यो नै यसअघिको सबैभन्दा उच्च विन्दु रहेको थियो । तर आइतबार नेप्सेले यो उचाईलाई पनि सजिलै पार गर्न सकेको हो ।

सूचकका साथमा खरिदबक्री रकममा पनि नयाँ उत्साह देखिएको छ । साउन लागेसँगै बजारमा चमक सुरु भएको हो । आइतबार १४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । पछिल्ला दिनहरुमा सेयर बजारलाई वाणिज्य बैंकहरुले लीड गर्न थालेका छन् । बैंकहरुमा क्रमशः चमक देखिन थालेपछि नेप्से सूचक नयाँ उचाईमा पुग्न सकेको हो । आइतबार हाइड्रोपावर, उत्पादनमूलक, माइक्रोफाइनान्स लगायतका समूह पनि चम्किएका छन् ।यो सेयर बजारका प्रमुख सिजन पनि हो । यतिबेला सेयर होल्ड गर्दा निकै छोटो समयमा लाभांश पाइने भएकाले पनि लगानीकर्ता बढी आकर्षित हुने गर्छन् । सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउन थालेको छ । प्रारम्भिक संकेतहरु सकारात्मक देखिएका छन् । यसले पनि लगानीकर्ताहरु थप उत्साहित भएका हुन् । लामो समयदेखि सुस्त बनेको वाणिज्य बैंकहरु अघि लाग्दा समग्र बजारमा थप सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

साउन लागेसँगै बैंकिङ प्रणालीमा तरलता सहज भएको छ । लगानीयोग्य रकम सजिलै उपलब्ध हुने भएपछि बजार पनि उत्साहित देखिएको छ । बैंकहरुले सस्तो ब्याजदरमा कर्जा दिइरहेका छन् । यस्तै, केन्द्रीय बैंकले मौद्रिक नीति आउन केही विलम्ब हुने बताएको छ । तथापि, अहिलेको योजना अनुसार नीति आएमा पुँजी बजारलाई खासै नकारात्मक असर पर्ने विषय नआउने उसको भनाई छ ।लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनी छानेर योजनाबद्ध हिसाबले लगानी गर्न सक्नुपर्छ । लगानी गरिने कम्पनीको नाफा, रिजर्भ, इपीएस, नेटवर्थ तथा भविष्यमा व्यवसाय विस्तारका सम्भावनाहरुलाई पनि ख्याल गर्न आवश्यक हुन्छ । बजार सधैं एउटै गोरेटोमा नहिँड्ने भएकाले रणनीति तथा जोखिम बहन क्षमतालाई पनि ख्याल गर्नुपर्छ । यतिबेला वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । ब्याजदर पनि सस्तो छ ।

सजिलै सेयर धितो कर्जा पाइन्छ । कोरोना महामाहारीका बाबजुत पनि सूचीकृत कम्पनीहरुले राम्रै नाफा आर्जन गरेको अनुमान गरिएको छ । वित्तीय विवरण सार्वजनिक गरेपछि लाभांश वितरणको समय आउनेछ । यसकारण पनि असार, साउन तथा भदौलाई सेयर बजारको मुख्य सिजनका रुपमा लिने गरिन्छ । यतिबेला सेयर होल्ड गर्न सके छिटो लाभांशको हकदार हुन सकिनेछ । यसर्थ, लगानीकर्ताहरुले बलियो वित्तीय सूचक भएका कम्पनी छानेर लगानी योजना तय गर्नुपर्छ । कम्पनीका आधारभूत सूचकहरु अध्ययन गर्नुपर्छ । १३ मध्ये ११ समूहको सूचक वृद्धि भएको छ । वाणिज्य बैंक समूह ३.४३ प्रतिशतले बढेको छ । ९ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । २२३ कम्पनीको ४ करोड ४१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४९ करोड ७६ लाख रुपैयाँभन्दा बढीसहित नेपाल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः ग्लोबल आइएमई बैंक र एनसीसी बैंक परेका छन् ।