ठाकुरको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

प्रकाशित मिति:

काठमाडौं, साउन १० : निर्वाचन आयोग ‘हेड काउन्ट’ गर्ने निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार भएको छ।आज (आइतबार) न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि डाकेकाे छ।

इजलासले निर्वाचन आयोगको खुला इजलासमा बहस भएर आदेश भएकाले थप आदेश जारी नहुने भनेको छ। जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादलाई निर्वाचन आयोगले भोलि (सोमबार) टुंगो लगाउँदै छ। ‘केन्द्रीय कार्यकारिणी समितिका सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको’ भन्दै आयोगले जसपा अध्यक्षद्वय महन्थ ठाकुर नेतृत्वको पार्टी राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टी एकीकरण हुँदा कार्यकारिणी समितिका रहेका ५१ जनालाई नै नागरिकताको प्रमाणपत्रसहित साउन ११ गते ११ बजे आफ्नो कार्यालयमा बोलाएको छ।

अल्पमतमा रहेका ठाकुरले आयोगको निर्णयले आफूलाई ‘अन्याय भएको’ भन्दै आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए । ठाकुरको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेकाले सोमबार आयोगले जसपा आधिकारिकता विवादमा फैसला गर्न कुनै बाधा नपर्ने बताइएको छ।