सामाजिक सुरक्षा कोषविरुद्धको मुद्दामा न्यायाधीशको राय बाझियो, अब मुद्दा पूर्ण इजलासमा

प्रकाशित मिति:

काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालत गएका बैंकका कर्मचारीको मुद्दामा दुई न्यायाधीशबीच राय बाझिएको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले यो मुद्दा टुङ्ग्याउन नसकेपछि अब पूर्ण इजलासमा जाने भएको छ ।

केसीले उक्त मुद्दामा अन्तरिम आदेश दिएका छन् भने श्रेष्ठले अन्तरिम आदेश जारी गरिरहन नपर्ने भन्दै फरक मत दिएका छन् ।बैंकका कर्मचारीले सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउनुपर्ने माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

न्यायाधीश केसीले सामाजिक सुरक्षा कोषको सूचना, विज्ञप्ति अनुसारको काम कारबाही अगाडि नबढाई यथावत् राख्न आदेश दिएका छन् भने न्यायाधीश श्रेष्ठले निवेदकबाट उठाइएका विषयवस्तु पूर्ण सुनुवाइ हुँदाका बखत छलफल भएर निरूपण हुने प्रकृतिको देखिएकाले हाललाई निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने राय व्यक्त गरेका छन् ।