निर्मला पन्तलाई न्याय माग्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र

प्रकाशित मिति:

१० साउन, महेन्द्रनगर । तीन वर्ष अघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्याय माग्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । निर्मलाका बुवा यज्ञराज पन्त र कान्छी आमा लक्ष्मी पन्तले आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले तीन वर्षसम्म छोरीको बलात्कारपछि हत्या गर्ने व्यक्तिको पहिचान हुन नसकेकाले चाँडै दोषी पत्ता लगाएर कानूनको कठघरामा उभ्याउन माग गरेका छन् । ज्ञापनपत्र बुझाउँदै निर्मलाका बुवा यज्ञराजले न्याय पाउने आशा मरिसकेको भए पनि हालै नयाँ सरकार आएकाले झिनो आशा अझै बाँकी रहेको उल्लेख गरे ।ज्ञापनपत्र बुझाउनु अघि आइतबार निर्मलाको तेस्रो पुण्यतिथिमा महेन्द्रनगर बजारमा मौन र्‍याली निकालेर श्रद्धाञ्जली दिइएको थियो । ज्ञापनपत्र बुझाउने र श्रद्धाञ्जली र्‍यालीमा निर्मलाकी आमा दुर्गादेवी भने देखिइनन् ।

१० साउन २०७५ मा भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित १३ वर्षीया निर्मला साथीको घर गृहकार्य गर्छु भन्दै गएका बेला बेपत्ता भएकी थिइन् । उनी भोलिपल्ट बलात्कारपछि हत्या गरेको अवस्थामा स्थानीय उखुबारीमा फेला परेकी थिइन् । तर निर्मलाको बलात्कार र हत्या कसले गरेको हो रु भन्ने अहिलेसम्म खुलेको छैन ।पहिलो प्राथमिकतामा राखेर यो प्रकरणको निरन्तर अनुसन्धान भइरहेकाले चाँडै दोषी पत्ता लाग्ने प्रहरीले आश्वासन दिँदै आएको छ ।