प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने काम प्रदेश सरकारको रहेको प्रदेश २ का मुख्यमन्त्री राउतको भनाई

प्रकाशित मिति:

प्रदेश नम्बर २ सरकारका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश २ सरकारले आफ्नो क्षेत्रअधिकार भित्रै रहेर काम गरिरहेको बताउनु भयो । उहांले संविधान अन्तर्गत अनसुचि १ मै प्रहरी प्रशासन र शान्ति सुरक्षा सम्बन्धि स्पष्ट रुपमा उल्लेख भएको कुरालाई टेकेर नै प्रदेश सरकार अगाडी बढेको दाबी गर्नु भयो । मुख्यमन्त्री राउतले प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने काम प्रदेश सरकारको रहेको बताउनु भएको छ ।

संघीय समाजवादी फोरम जिल्ला समन्वय समिति रुपन्देहीले भैरहवामा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले कर्मचारीको अभावमा नीति तथा नियमहरु कार्यान्यवयन गर्न नसक्दा जनताका गुनासो आउने गरेको बताउनु भएको छ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएको नेता राउतले केही दिनपछि प्रधानमन्त्री केपी ओलीद्धारा बोलाइएको अन्तर समन्वय समितिको बैठकमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु सहभागि हुने र आफ्नो कुरा राख्ने बताउँनु भयो । उहांले प्रदेशका मुख्यमन्त्रीहरुको अभिभावक प्रधानमन्त्री भएको उल्लेख गर्नु भयो । कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, नेताहरु रामअवतार यादव, अशोक वर्मा लगायतले बोलेका थिए ।