जितेश्वरी माध्यमिक विद्यालयले ३७ औ वार्षिकोत्सव मनायो

प्रकाशित मिति:

बुटवल १३ मा रहेको जितेश्वरी माध्यमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी ३७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले कार्यक्रममा बोल्दै शिक्षा क्षेत्रलाई गुणस्तर र प्रविधिमैत्री बनाउनको लागि जोड दिनु पर्ने बताउनु भएको छ । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका उहाले अहिलेको युग विज्ञान र प्रविधिको युग भएकाले ब्यवहारिक ज्ञानको आवस्यकता रहेको दाबी गर्नु भयो । बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले सामुदायिक विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप गरेर विद्यार्थीहरुमा सिकाईलाई जोड दिनु पर्ने बताउनु भएको छ । सामुदायिक विद्यालयमा दरबन्दीको अभावले गर्दा गुणस्तरिय शिक्षामा चुनौती देखिएको उहाले बताउँदै शिक्षा ऐनमा संसोधन गरी शिक्षालाई समय सापेक्ष बनाउन जरुरी रहेको बताउनु भएको छ ।

प्रधानध्यापक उपेन्द्र ज्ञवालीले विद्यालयमा अहिले कक्षा १२ सम्म अध्यापन भईरहेको जानकारी दिदैं विद्यालयमा दरबन्दीको अभाव सिर्जना भएको बताउँनु भएको छ । विद्यालयमा करिब ४०० विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेम बहादुर रानाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नेपाल शिक्षक संघका विश्वनाथ न्यौपाने, नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष कासीराम पौडेल, तुल बहादुर सारु लगायतले बोलेका थिए । कार्यक्रममा नमस्ते किड्स नेपालले ५० हजार बराबरको शैक्षिक तथा खेलकुद सामाग्री विद्यालयलाई सहयोग समेत गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक सँगै विज्ञान प्रर्दशनको आयोजना गरेको थिए ।