रेशम चौधरी जसपाको पक्षमा खुले

प्रकाशित मिति:

१३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगले गरेको सनाखतमा तटस्थ बसेका रेशम चौधरी जसपाको पक्षमा खुलेका छन् ।डिल्लीबजार कारागारमा रहेका चौधरीले केन्द्रीय कार्यकारिणी बैठक चलिरहेको बेला फोनमार्फत आफू जसपाको आधिकारिक पक्षमा रहेको बताएको पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘माननीय रेशम चौधरीले फोनवार्तामार्फत व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु,’ खतिवडाले फेसबुकमा लेखेका छन् । जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो ।सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर निर्वाचन आयोग लगिएका चौधरीले आफूले जसपा विवादमा दुवै पक्षमा मत नदिई तटस्थ बसेको जिकिर गरेका थिए ।