बाँसको तामा स्वादिलो मात्र होइन पौष्टिक र ओखती पनि

प्रकाशित मिति:

गाउँघरमा यतिबेला सागसब्जीको दुःख हुँदैन । त्यसमाथि थरीथरी तरकारीले जिब्रोको स्वाद फेर्न पाइन्छ । जस्तो कि, तामा । बाँसको कलिलो टुसा हो यो । यसबाट अनेकथरी व्यञ्जन बनाएर खान सकिन्छ । तामालाई ताजा खाए हुन्छ वा लामो समय राखेर पनि खान सकिन्छ । तपाईंको स्वाद र मर्जी अनुसार । बाँसको तामा सजिलै उपलब्ध हुने त्यस्तो तरकारी हो, जसमा कुनै रासयनिक मलखाँद, विषादी मिसाउन जरुरी हुन्न । अर्थात यो शुद्ध, ताजा र पूर्ण जैविक हुन्छ । किनभने बाँसका लागि अतिरिक्त मल र विषादी चाहिँदैन । न सिंचाई गर्नुपर्ने । यो जता–ततै सजिलै हुर्कने वनस्पति हो । वास्तवमा बाँस आफैमा बहुउपयोगी र बहुगुणी वनस्पति हो । बाँस छिटै बढ्ने प्रजातिमा पर्छ । त्यसैगरी यसले वायुमण्डल शुद्धिकरणमा पनि खास भूमिका खेल्छ ।

अब कुरा गरौं, बाँसको टुसाको । टुसालाई तामाको रुपमा विभिन्न व्यञ्जन बनाएर खान सकिन्छ । यसको सुप बनाएर खान सकिन्छ, भुटेर खान सकिन्छ, अन्य सागसब्जीमा मिसाएर खान सकिन्छ, अचार बनाएर खान सकिन्छ । अर्थात आफ्नो स्वाद अनुसार यसलाई थरीथरी परिकारमा तयार गर्न सकिन्छ । तामा, आलु र बोडीको झोलले त धेरैको जिब्रो लोभ्याउँछ । त्यसैगरी यसलाई सुख्खा भुटेर वा अचार बनाएर पनि स्वाद फेर्न सकिन्छ । बाँसको तामालाई पारम्परिक खाद्य पदार्थको रुपमा उपयोग गर्न सकिन्छ । स्वादको मात्र के कुरा, यो पौष्टिकताले पनि भरपुर तरकारी हो । बाँसको तामामा मूख्यत भिटामिन ए, भिटामिन इ, भिटामिन बि, भिटामिन बि६, थायमिन, फोलेट, प्याटोथेनिक एसिड, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस, पोटाशियम, सोडियम, कपर, आइरन जस्ता तत्व पाइन्छ ।

औषधिको रुपमा-बाँसको तामामा औषधिय गुण हुन्छ । यसलाई औषधिको रुपमा पनि प्रयोग गरिदै आएको छ । लगभग २ हजार बर्षदेखि पारम्परिक चिनियाँ औषधिय सामाग्रीको रुपमा प्रयोग गरिदै आएको पाइन्छ । तिब्बती चिकित्सा पद्धतीमा यसलाई ‘तबाशीर’ वा ‘तवाशीर’ भनिन्छ । भारतिय पारम्परिक चिकित्सा पद्धतीमा बाँसको तामामा पाइने प्राकृतिक क्याल्सियमलाई ‘वंशलोचन’ भन्ने गरिन्छ ।आधुनिक शोधमा के पाइएको छ भने, बाँसको तामाबाट केही स्वास्थ्य लाभ मिल्छ । यसमा भएको पाइने एमिनो एसिडमा उचाई बढाउने, गर्भाशय स्वास्थ राख्ने गुण हुन्छ । बाँसमा युटरोटोनिक नामको तत्व पाइन्छ, जो गर्भाशयको संकुचन बढाउन उपयोगी हुन्छ ।यसमा पाइने भिटामिन इले छालालाई स्वास्थ राख्न मद्दत गर्छ । भिटामिन ईले हाम्रो लागि एक एन्टिअक्सिडेन्टको काम गर्छ । यसले छालाको कोशिलाई फ्री रेडिकल्सको प्रभावबाट बचाउँछ ।

पोषक तत्व-बाँसको तामामा भिटामिन, खनिज पदार्थ, प्रोटिन र अरु केही प्रकारका एन्टिअक्सिडेन्टको राम्रो मात्रा पाइन्छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । साथै यसमा हुने फाइटोन्यूट्रिएन्ट्सले हृदयको कार्यप्रणालीलाई राम्रो बनाउँछ ।एक अध्ययन अनुसार बाँसको तामामा पाइने फाइटोस्टेरोल्स र फाइटोन्यूट्रिएन्ट्सले शरीरको खराब कोलेस्ट्रोल क मगर्न मद्दत गर्छ । यसका साथै बाँसको तामा पोटेशियम हुन्छ, जसले रक्त प्रवाह एवं हृदयको गति सन्तुलित राख्न मद्दत गर्छ । समग्रमा, बाँस बहुउपयोगी वनस्पति हो । साथै बहुगुणी पनि@onlinekhabar ।