प्रधानमन्त्री देउवालाई काँग्रेस गुल्मी-काठमाडौँ सम्पर्क समितिले दियो सुझाव

प्रकाशित मिति:

काठमाडौं – नेपाली काँग्रेस गुल्मी काठमाडौँ सम्पर्क समितिले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई तथा शुभकामना दिएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट गर्दै प्रतिनिधिसभा सांसद तथा पूर्व राज्यमन्त्री सुवर्ण ज्वारचन तथा समितिका तर्फबाट अध्यक्ष ज्ञान बहादुर कार्कीसहितको टोलीले बधाई एवं सफल कार्यकालको शुभकामना दिएका हुन् ।

उनीहरुले प्रधानमन्त्री देउवालाई कमजोर रहेको अर्थव्यवस्थालाई माथि उठाउन, परराष्ट्र सम्बन्धलाई मजबुत बनाउन, घरेलु राजनीतिलाई व्यवस्थित बनाउन, प्रजातान्त्रिक संस्कारको विकास गर्न, उच्च राजनैतिक नैतिकता प्रदर्शन गर्न सुझाव दिएका छन् । त्यस्तै कोभिड महामारीबाट आक्रान्त नेपाली जनताहरुलाई चाँडो भन्दा चाँडो खोपको सुनिश्चितता गर्न, महामारीबाट प्रभावित भएका परिवारहरुलाई उपयुक्त राहत प्याकेज ल्याउन सुझाव दिइएको सम्पर्क समितिका उपाध्यक्ष कृष्ण प्रसाद खरेलले बताए ।

गठबन्धनमा रहेका राजनीतिक दलहरुको विश्वास, साथ, सहयोग र समर्थनमा सरकार सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको भन्दै विगतका सरकारले गरेको गल्ती नदोहोर्याउने गरी काम गर्न सुझाव दिइएको उनले बताए । उक्त अवसरमा बोल्दै सांसद ज्वारचनले देउवालाई गठबन्धनका सबै नेताहरुलाई विश्वासको गरेर देशमा सुशासन कायम गर्दै, भ्रष्टाचारलाई शून्य बनाउँदै व्यवस्थाप्रति जनताको भरोसा बढाउने गरी काम गर्न सुझाव दिइन् ।

त्यस्तै समितिका सदस्य तारा मंगोल (थापा)ले प्रधानमन्त्रीलाई पार्टी पंक्तिबाट नैतिक र राजनैतिक सहयोग पुर्याउने भरोसा दिलाइएको बताए । उक्त अवसरमा सांसद ज्वारचन सहित प्रा.डा.तारा प्रसाद सापकोटा, प्रजातन्त्रीवादी प्रध्यापक संघका केन्द्रीय सदस्य विष्णु पन्थी, राजनीतिशास्त्री परशुराम घिमिरे, नेता कृष्ण नेपाली, कृष्ण प्रसाद खरेल, तारा मंगोल, बाबुराम कुवँर , राजु भण्डारी, ओम बस्नेत, प्रदीप पोखरेल, निरज ज्वारचन, सन्तोष खत्री लगायतको उपस्थिती रहेको थियो । जवाफमा प्रधानमन्त्रीले समितिले दिएको सुझाव अनुसार काम गर्ने प्रतिबद्धता जनाएका थिए ।