लुम्बिनीमा वैकिल्पक सरकार गठनका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण

प्रकाशित मिति:

बुटवल, साउन १६ : संघीय सरकार फेरिएसँगै लुम्बिनी सरकार पनि अल्पमतमा रहेको आवाज उठिरहेकाे छ। एमालेबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलले अनेक दाउपेच लगाएर टिकाएको सरकार अब भने ढल्ने विश्लेषण गरिँदै आएको छ। भर्खरै सरकारले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेको छ। उनले बदबहाली गरेको भोलिपल्टै (आज शनिबार) प्रदेशसभाका विपक्षी चार दलले एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै विघटन गर्न आग्रह गरेका छन्। उनीहरुले तत्काल अर्को सरकार गठनको व्यवस्था मिलाउन पनि प्रदेश प्रमुखसमक्ष आग्रह गरेका छन्।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेताहरुले प्रदेश प्रमुख शेरचनलाई शनिबार ध्यानाकर्षण पत्र नै बुझाए। पत्रमा आफूहरुको पक्ष बहुमतमा रहेको जिकिर गरिएको छ।लुम्बिनी प्रदेशसभा हाल ८० सदस्यीय छ। तीमध्ये ४२ सांसदको समर्थन आफूहरुका लागि रहेकोदाबी गरिएको छ।। ३८ सांसदको मात्र समर्थन रहेकाले अल्पमतको सरकार जबर्जस्ती चलाइएको अवस्था रहेको विपक्षीको भनाइ छ।

पत्रमा भनिएको छ, ‘वर्तमान सरकार विघटन गरी १६८ (२) बमोजिम बहुमतको सरकार गठनका लागि मार्गप्रशस्त गर्न आवश्यक पहलका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धन दलको तर्फबाट विनम्र अनुरोध गर्दछौं।’मुख्यमन्त्री पोखरेलले गत वैशाख १९ गते संसदमा दर्ता गराइएको अविश्वास प्रस्तावको सामना गरेनन्। उनले प्रदेशसभा अधिवेशन अन्त्य गराई राजीनामा दिएरप्रदेशसभामा आफ्नो बहुमत रहेको भन्दै एकल बहुमतको सरकारको दाबी गर्दै आएका छन्।त्यतिबेलाका प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई एकल बहुमतको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।