तिलोत्तमाको बांसघारीमा लायन्स देउरालीको ‘माई लायन्स भिलेज’

प्रकाशित मिति:

बुटवल, १७ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पहिलो लायन्स भिलेज स्थापना भएको छ । विकासमा तुलनात्मकरुपमा पछाडि परेको र विपन्न वर्गको बसोबास भएको वस्ती छनोट गरेर वडा नं. ६ को बांसघारी टोलमा लायन्स क्लब अफ बुटवल देउरालीले ‘माई लायन्स भिलेज’ स्थापना गरेको हो । क्लबले वर्षभरि गर्ने सामाजिक सेवाका कामहरुलाई एउटै गाउंमा केन्द्रीत गरी उक्त गाउंका बासिन्दाको आर्थिक, सामाजिक विकासमा योगदान गर्ने उद्देश्यले लायन्स भिलेज स्थापना गरिएको क्लबका अध्यक्ष ज्ञानप्रसाद पौडेलले बताए ।

लायन्स भिलेजमा निःशुल्क वृहत स्वास्थ्य शिविर, महिलाको स्तन र पाठेघरको क्यान्सर स्क्रिनिङ, विपन्न विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री र खाद्यान्न वितरण जस्ता कार्यक्रम गरिने पौडेलले बताए । लायन्स भिलेजको उद्घाटन गर्दै लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ नेपालका डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले शहर केन्द्रीत कार्यक्रमलाई स्थानीय सरकारसंग सहकार्य गरेर गाउंमा केन्द्रीत गर्ने उद्देश्यले ‘माई लायन्स भिलेज’ अभियान शुरु गरिएको र हालसम्म ५० वटा लायन्स भिलेज स्थापना भइसकेका बताए । उनले लायन्स क्लबहरुले देखाउन र प्रचारका लागि नभई निस्वार्थ सेवाभावले अन्तर हृदयदेखि सामाजिक सेवाका काम गर्नुपर्ने बताए । उनले लायन्स क्लबहरुबाट राजनीतिक दल र नेताहरुले विधि र पद्दति सिक्नुपर्ने बताए ।

वडा अध्यक्ष सुखदेव न्यौपानेले नगरपालिकामा पहिलो लायन्स भिलेज स्थापनाले वडाका विपन्न वर्गले लाभ लिन पाउने वडाको विकासमा इट्टा थपिएको धारणा राखे ।लायन्स क्लब बुटवल देउरालीले आइतबार नै आनन्दवन स्वास्थ्य चौकीमा लायन्स पार्क स्थापना र बृक्षारोपण गरेको छ । नगरपालिकासंगको सहकार्यमा क्लबले पार्कमा डेढ सय फूलका विरुवा रोपेको हो । कार्यक्रम क्लबका सचिव कृष्णप्रसाद भण्डारीको सञ्चालन र सहसचिव मोहिनी रिजालको स्वागतमा सम्पन्न भएको थियो ।