७० बर्ष पुगेका पार्टीको कार्यकारी पदमा नबसौं : गगन

प्रकाशित मिति:

मंसिर १८, काठमाण्डौ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले ७० वर्ष उमेर पुगेकाले पार्टीको कार्यकारी पदमा बस्न नपाउने प्रावधान विधान राख्न प्रस्ताव गरेका छन् । थापाले केन्द्रीय कार्यसमिति बैठकमा विधान मस्यौदामाथि छलफलमा भाग लिँदै ७० वर्ष पुगेकाले कार्यकारी पदमा बस्न नपाउने प्रावधान राख्नुपर्ने बताएका हुन् ।

महामन्त्री पूर्णबहादुर खड्को संयोजकत्वमा गठित विधान मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमाथि मंसिर ९ गतेदेखि केन्द्रीय समितिमा छलफल भइरहेको छ । मंगलबारसम्म ४५ जनाले धारणा राखेको कांग्रेसले जनाएको छ ।

मस्यौदामाथि धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले पदाधिकारी र केन्द्रीय सदस्य बढाउन सुझाव दिएका छन् । मंगलबार बोलेका गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, चीनकाजी श्रेष्ठलगायतले पदाधिकारीको संख्या बढाउनु पर्ने धारणा राखेका छन् । गुरुङले पदाधिकारीको संख्या बढाउनका साथै सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गर्र्नुपर्ने प्रस्ताव राखेको जानकारी दिए ।

थापा र गुरुङले आर्थिक पारदर्शितालाई पार्टीले संस्थागत ढंगले नै अघि बढाउनु पर्ने र त्यसका लागि विधानमै जुनसुकै तहका पदाधिकारीले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान राख्न माग गरेका छन् ।

त्यस्तै एउटै पदमा धेरै सदस्य निर्वाचित हुने पदहरुका एक संक्रमणीय निर्वाचन प्रणाली अपनाउनु पर्ने मत पनि केन्द्रीय सदस्यहरुले उठाएका छन् । पार्टीमा एउटै खालको सदस्यता कायम गर्न र अनलाइनबाटै पार्टीको सदस्यताको व्यवस्था गर्नुपर्ने केन्द्रीय सदस्यहरुको धारणा थियो ।  विधान मस्यौदा समितिका सदस्यसमेत रहेका आनन्दप्रसाद ढुंगानाले संविधान र संघीयता कार्यान्वयनलाई बल पुग्ने गरी विधान संशोधन हुनुपर्ने बताए । मंगलबार एनपी साउद, गोविन्द भट्टराई, लक्ष्मी परियार, नरेन्द्रकुमार चौधरी र रमा कोइराला पौडेलले पनि धारणा राखेका थिए ।