हरिनास गाँउपालिकाका अध्यक्ष बिरुद्ध अख्तियारमा उजुरी

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल- स्याङ्जा, स्थानीयतहको निर्वाचन भएको ४ बर्ष पुरा भएर ५ बर्षमा लाग्दै छ । मुलुकको संघियता अनुसार निमार्ण भएका स्थानीयतहको निर्वाचन पछि सबै भन्दा बढी अनियमितता स्थानीयतहमा देखिन थालेका छन् । नयाँ संरचना र लामो समयपछि स्थानीयतहको निर्वाचनले गर्दा जनप्रतिनिधिहरुमा बढी उन्माद देखिएको स्थानीयहरुले बताउदै आएका छन् । जनप्रतिनिधि जनमुखी भएनन् भनेर आरोप समेत खेपीरहेका बेला कार्यकाल सकिनै लाग्दा सर्वसाधरणहरु अख्तियारको ढोका पुग्न थालेका छन् । गत आर्थिक बर्षमा ९ सय ३२ उजुरी मध्ये सबै भन्दा बढी उजुरी स्थानीयतहको रहेको गण्डकी प्रदेश अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । यस्तै चपेटाको भुमरीमा अहिले हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धर पनि अख्तियारको निगरानीमा परेका छन् ।

गाँउपालिकाबाट बिनियोजन हुने रकममा आफै मनोमानी गर्दै हरेक विकास निमार्णमा आर्थिक अनियमिता देखि कजोररुपमा विकास योजना सम्पन्न भएको गाँउपालिकावासीले आरोप लगाएका छन् । पटक पटक गाँउपालिका अध्यक्ष मानन्धरलाई मनोमानी नगरी विकास निमार्णमा साझेदारी अपनत्व लिन आग्रह गरेपनि दादागिरी शैलीमा अगाडी बढेपछि अनियमिता छानविन गरिदिन अख्तियारको ढोका पुग्न बाध्य भएको स्थानीयहरुले बताएका छन् । दुईचरणमा गरेर हरिनास गाँउपालिकाका स्थानीयले अख्तियारमा उजुरी दिएका छन् । नाम सार्वजनिक नगरिदिने शर्तमा ति स्थानीयले भने २०७७ साल साउन ८ गते र अर्को २०७८ साल असार २४ गते अख्तियारमा विभिन्न योजनाको नाम सहित छानविन गरिदिन निवेदन दिएको बताए ।

उनका अनुसार ४ बर्षको अन्तरालमा उनले करोडौ रुपैया भष्टचार गरेको आरोप लगाए । नागरिकको हित भन्दा पनि आफ्नो स्वार्थलाई फाइदा पुग्ने गरी रकम बिनियोजन हुने गरेका छन् ति स्थानीयले भने,‘बजेट निधारर्ण गर्दा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्देशित गरेभन्दा बाहिर रहेर हुने गरेका छन् ।’ गाँउपालिकाको भवन, देखि भ्युटावर बनाउदा टेण्डर आब्ह्रान समेत नगरी उपभोक्ताको नामबाट निमार्ण गरिएको छ उनले भने । १ करोड २० लामा गाँउपालिकाको भवन निमार्ण गर्दा सार्वजनिक खरिद ऐन अनुसार टेण्डर नै आब्ह्रान नगरी आफै निमार्ण थाल्दा ठुलो आर्थिक अनियमितता भएको शंका स्थानीयले लगाएका छन् ।

उनका अनुसार गाँउपालिका भवन, बैदी छाप क्याक्मी मोटरबाटो, हरिनास ६ मा निमार्ण गरिएको भ्युटावर लगायत दर्जनौ योजनामा आर्थिक अनियमिता भएको शंका गरी स्थानीयले अख्तियारमा उजुरी दिएका छन् । यस बिषयमा जानकारी लिन खोज्दा गाँउपालिका अध्यक्ष मानन्धर सम्पर्कमा आएनन् । अध्यक्ष मानन्धर निर्वाचित भएदेखिबाटै विवादमा तानिदै आएपनि उनको खबर खासै बाहिर आएको थिएन । उनीको कार्यशैलि बाट कार्यालयका कर्मचारी र जनप्रतिनिधि समेत असन्तुष्ट रहेको बताइएको छ ।

हरिनास ६ मा निर्माण हुदै गरेको पुर्कोट भ्युटावरको बिषयमा आफुलाई कुनै जानकारी नभएको सोही वडाका अध्यक्ष नरबहादुर थापाले बताए । आफ्नै वडामा भ्युटावर निमार्ण हुदा न टेण्डर आब्ह्रान भएको छ न उपभोक्ता समिति गठन गर्दा मलाई जानकारी दिइएको छ यस बिषयमा आफु अनविज्ञ रहेको वडा अध्यक्ष थापाले बताए । गाँउपालिकाले नै बजेट बिनियोजन गरेको र अध्यक्ष आफैले उपभोक्ता समिति गठन गरेर भ्युटावर निमार्ण गरेको थापाको भनाई छ । स्याङ्जाबाट मात्रै गएको आर्थिक बर्षमा १ सय २ उजुरी अख्तियारमा दर्ता भएका छन् । ति मध्ये संघिय सरकारका २१, प्रदेश सरकारका ९ र स्थानीय सरकारका ७२ उजुरी रहेका छन् । तिनतहका सरकार मध्ये सबै भन्दा बढी उजुरी स्थानीयतहकै दर्ता भएको अख्तियारको तथ्याङ्कमा देखिन्छ । कुन कुन स्थानीयतहको उजुरी दर्ता भएको छ भन्ने प्रश्नमा अख्तियारले अनुसन्धानमा समस्या हुने भन्दै नाम बताउन चाहेन । सबै जसो उजुरीमा सरकारी अनुदान विकास सम्वन्धी रहेको बुझिएको छ । यस बिषयमा अख्तियारले कसरी आफ्नो अनुसन्धानलाई अगाडी बढाउने छ त्यो भने हेर्न बाँकी छ ।