प्रदेश सभा सदस्य विमला वली माओवादी केन्द्रमै

प्रकाशित मिति:

बुटवल,२० साउन । नेकपा एमालेमा लागेको भनिएकी लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली माओवादी केन्द्रमै रहेको सो पार्टीले जनाएको छ । एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी केन्द्र संसदीय दलको कार्यालयमा उपस्थित भएकी हुन् ।

माओवादी संसदीय दलका एक सदस्यका अनुसार उनी आफैं पार्टीको सम्पर्कमा आएकी हुन् । विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमै राखिएको नेताहरुसँग बताएको माओवादी संसदीय दलका सदस्यले जानकारी दिए । दुई दिनअघि मात्रै विमलाको हस्ताक्षरमा आफू एमालेमै रहेको व्यहोराको प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो । तर माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको आरोप लगाएको थियो । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र घटनाको उच्चस्तरीय छानवीन गर्न सरकारसँग माग गरेको थियो ।

विमला माओवादी केन्द्रमै रहेपछि विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुगेको छ । प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा सभामुखसहित ४२ मत छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ भने प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन निवेदन दिएको छ ।@lumbinipati