नेपालमा ठूलाे भूकम्प जाने सम्भावना रहेकाे वैज्ञानिकहरूकाे दाबी

प्रकाशित मिति:

बुटवल, १९ मंसिर – नेपालमा ठूलो भूकम्प जाने संम्भावना रहेकाे वैज्ञानिकहरूले बताएका छन् । भारतीय वैज्ञानिकहरु नेपालको हिमालय क्षेत्रसहितका स्थानहरुमा भूकम्पको जोखिम रहेको दाबी गरेका हुन् ।

जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिर्सचका लागि भूगर्वविद् सीपी राजेन्द्रले नेतृत्व गरेको अनुसन्धानले निकट भविष्यमा यी क्षेत्रमा ठूलो भूकम्प जान सक्ने उल्लेख गरेको छ ।

‘दक्षिण एशियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८.५ म्याग्निच्युडको भूकम्प जान सक्छ’, बेंग्लोर आधारित संस्थाको जियोलोजिकल जर्नलमा प्रकाशित लेखमा भनिएको छ । नेपालको सुदूर पश्चिमको हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रको तथ्यांकआधारित भएर गरिएको अध्ययनले यस्तो देखाएको हो ।

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्विरको सहयोगमा अनुसन्धान सञ्चालन भएको थियो ।

भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेका अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भविद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन् । उनले हिमालय क्षेत्रमा ८.५ म्याग्नेच्युडको भूकम्प जानेमा कुनै शंका नरहेकाे दाबी गरे । याे ठूलाे बिपत्ती जुनसुकै बेला अाउने भएकाले सतर्क रहन पनि वैज्ञानिकहरूले अाग्रह गरेका छन् ।

सन् २०१५ मा नेपालको गोर्खा केन्द्रविन्दू भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । हिमाली भूकम्पहरुको इतिहास अध्ययन गरेका विल्हमले त्यसपछि सो भूकम्प हिमाली क्षेत्रको सबैभन्दा विनाशकारी नभएको उल्लेख गरेका थिए ।

‘सबैभन्दा बढी विनाशकारी हुने अनमान गरिएको भूकम्पबाट चाहिँ १० लाखसम्म मानिसको ज्यान सक्छ’, उनले भनेका छन्, ‘सरकारहरूले यस्तो विपत्तिको रोकथाम गर्न चाँडै नै भवनहरूलाई बलियो तुल्याउनुपर्छ ।’

गोर्खा भूकम्पबाट नेपालमा करिब ९ हजार मानिसको ज्यान गुमाएका थिए । एजेन्सीकाे सहयाेगमा