संयुक्त विद्यार्थी संगठनको माग, ‘परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रको आधारमा खोप देउ

प्रकाशित मिति:

काठमाडौं–पाँच विद्यार्थी संगठनले विश्वविद्यालयमा चलिरहेका परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाएरमात्र परीक्षामा सहभागी हुने वातावरण बनाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

उनीहरूले प्रवेशपत्रको आधारमा खोप लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । सोमबार संयुक्त विद्यार्थी संगठनको तर्फबाट स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी ज्ञापनपत्र बुझाएकाछन् । ‘देशभरका विद्यार्थीहरूलाई खोप नलगाएको र स्वासथ्य सुरक्षा अपनाउन नसकेको कारण कोरोनाको संक्रमणको जोखिम बढेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘परीक्षा दिने विद्यार्थीहरूलाई मानसिक तनाव थपिएको छ, परीक्षा हलमा असुरक्षाका कारण परीक्षा प्रभावकारी भएको छैन।’

नेपाल विद्यार्थी संघको महामन्त्री युवराज पाण्डेयले ६० लाख विद्यार्थीलाई तत्काल खोप लगाउन आवश्यक देखिएको र विद्यार्थीलाई प्राथमिकतामा राखेर खोप दिन मन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए। उनले राज्यमन्त्री श्रेष्ठले खोप लगाउने प्रतिवद्धता जनाएको बताए । ‘परीक्षा नियमित पनि गराउनुछ, स्वास्थ्य मापदण्ड पुरा गरेर परीक्षामा सहभागी हुन खोपको जरुरी देखिएकोले हामीले ध्यानाकर्षण गराएका हौं’ उनले भने ।