मुख्यमन्त्री विरूद्धको अविश्वास प्रस्तावमा आज छलफल हुँदै

प्रकाशित मिति:

बुटवल- लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक आज बस्दैछ । साउन १९ गते विपक्षी गठबन्धनका ३४ सांसदको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले आज दिंउसो १ बजेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन् । प्रतिपक्ष ४ दलले संसदमा तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेलविरूद्व अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

आजको विशेष अधिवेशनमार्फत मुख्यमन्त्री पोखरेलविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ । प्रदेशसभामा बैशाखमै अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले विभिन्न बहानमा सरकार टिकाइरहेका छन् । सरकारसँग ३८ मत मात्र रहेको प्रदेशसभामा विपक्षीले सभामुखसहित ४२ मत रहेको दाबी गर्दै आएका छन । प्रदेश सभामा अहिले ८० सांसद कायम छन् ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । विपक्षी गठबन्धनले प्रदेशसभा सदस्यलाई होटलमा राखेका छन् । सोमबार कपिलवस्तुको राजापानी रिसोर्टमा राखेका प्रदेशसभा सदस्यलाई मंगलबार ‘लुम्बिनी बुद्ध गार्डेन’मा विपक्षी गठबन्धनका ४१ सदस्यलाई सारिएको छ ।