‘छक्का पञ्जा ३’ को ‘सक्सेस् पार्टी’ मा करिश्माको हात समाएर नाचे मदनकृष्ण

प्रकाशित मिति:

मङ्सिर १९ काठमाडौं । गत असोज २४ गते दशैंको घटस्थापनादेखि प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा-३’ ले ५१औं दिन पार गरेपछि खुसीयालीमा यसको निर्माण समूहले मंगलबार बेलुका ‘सक्सेस पार्टी’ गरेको छ।
उपत्यका तथा बाहिरका गरी १३ हलमा लगातार ५१ दिनसम्म प्रदर्शन भएपछि निर्माण समूह हौसिएको हो।

‘छक्का पञ्जा’ टिमका दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, संजोग कोइरालालगायत भेला भएर ‘सक्सेस् पार्टी’ गरेका हुन्।

उक्तल पार्टीमा सहभागी भई मदनकृष्ण श्रेष्ठ, नीर शाह, भुवन केसी, करिश्मा मानन्धर, अशोक शर्मा, सीताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, सन्दीप क्षेत्रीलगायत कलाकाहरूले उनीहरूलाई बधाइ दिएका थिए।

जितु नेपाल र केदार घिमिरेले स्वागत मन्त्यव्य दिएपछि संगीतकार राजनराज सिवाकोटीले सिनेमा ‘वडा नम्बर ६’ मा समावेश ‘सुर्के थैली खै’ गीतमार्फत् कार्यक्रमको सुरुवात गरेका थिए। उक्त गीतमा कलाकार मदनकृष्ण श्रेष्ठले नायिका करिश्मा मानन्धरको हात समाएर नाचेका थिए। जुन दृश्य निकै मनमोहक र रमाइलो देखिन्छ।

कार्यक्रममा सिनेमालाई सफलतापूर्वक ५१औं दिन मनाउन साथ दिने कलाकार, प्राविधिक, पत्रकार, स्पोन्सर लगायतलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।

सिनेमाले उपत्यकामा मल्टिप्लेक्सअन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिंगल थिएटरअन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्काे, गंगा सिनेमा बालाजु, गोपीकृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१औं दिन पार गरेको हो।

त्यस्तै मोफसल (उपत्यकाबाहिर) मा कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा हल पोखरामा उक्त सिनेमाले प्रदर्शनको ५१औं दिन पार गरेको छ।

यसअघि ‘छक्का पञ्जा’ले १०१ दिन र ‘छक्का पञ्जा–२’ ले ५१औं दिन पार गरेका थिए। डिजिटल प्रविधि आएर लगातार तीन सिरिजले नै ५१औं दिन पार गर्ने सिनेमामा छक्का पञ्जा नै पर्छ। यसका तीनवटै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्।