हिंसा मानव अधिकार हननको विषय भएकाले यसको अन्त्य जरुरी रहेको प्रदेश ५ का उपसभामुख थारुको भनाई ।।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा महिला बाल अधिकार संजाल रुपन्देहीले लिंगको आधारमा गरिने हिंसाको समग्र अवस्था विषयक अनतरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै ५ न प्रदेशका उपसभामुख कृष्णी थारुले हिंसाको सुरुवात घरबाटै हुने भएकाले अन्त्यका लागि सुरुवात पनि घरका सदस्यले नै गर्नुपर्ने बताउनुभएको छ । वहांले लैंगिक हिंसा हिंसा मात्रै नभएर मानव अधिकारको हननको विषय भएकाले पुराना मूल्य मान्यतामा पनि परिवर्तन जरुरी रहेको औंल्याउंनुभयो । उपसभामुख थारुले लैंगिक हिंसा मानसिक, सामाजिक , सांस्कृतिक तथा शारिरीक जुन सुकै खालका पनि हुने भएकाले हरेक खालका हिंसाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै अन्र्तराष्ट्रिय मानव अधिकार आयोग प्रदेश न ५ का प्रमुख पवन कुमार भट्टले हरेक हिंसाको खन्त्यका लागि सरोकारवालाबीच छलफल र लक्षित समूहमा जनचेतना जगाउन जरुरी रहेको बताउनुभयो । मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति डि पी खनालले लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेपछिको अवस्थामा हिंसाजन्य घटना बढ्दै जानु खतराजनक भएकाले यसको निर्मूल आवशयक रहेको बताउनुभयो । महिला बालअधिकार संजाल रुपन्देहीका संयोजक समिता मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईन्सेक रुपन्देहीका प्रतिनिधी रिमा विसीले कार्यपत्र प्रस्तुत गर्दै विभिन्न क्षेत्रमा हुने हिंसाको खोजी र निराकरण जरुरी रहेको भनाई राख्नुभएको थियो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वय तथा विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा आयोजित कार्यक्रममा माईती नेपालका रुपन्देही प्रमुख माया क्षेत्रीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संस्थाका करिब ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारीले गर्नुभएको थियो ।