राजदूत शेर्पामाथि छानविन गर्न कांग्रेसको माग

काठमाडौं

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सम्बन्धमा केहि समय यता मानव तस्करीमा संलग्न भनी उठेको प्रश्नलाई गम्भीर रुपमा लिएको जनाएको छ । बुधबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै  निजकै सहयोगीले सो  विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई झनै गम्भीर रहेको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ  कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी हो । अतः राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौं ।

तत्कालै आवश्यक छानविन गर्न, छानविनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराएको छ । शेर्पामाथि आफ्नै सवारी चालकले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएका थिए । नेपाली दूतावास अष्ट्रेलियामा चालकका रुपमा कार्यरत शेर्पाका सवारी चालक ओङ्छु शेर्पाबाटसमेत लक्कीले मोटो रकम असुलेर त्यहाँ लगेको बताएका थिए ।  चालक शेर्पाले लक्की र उनका पतिले अमेरिका पठाइदिने भन्दै आफूसँग सुरुमा २२ लाख रकम लिएको आरोप लगाएका थिए । अमेरिकाको भिसा नलागेपछि राजदूत दम्पत्तिले थप १० लाख रुपैयाँ लिएर अष्ट्रेलिया लगेको उनको भनाइ छ । त्यहाँ पुगेपछि पनि कूल ६० लाख दिनुपर्ने पूर्वसर्त अनुसार आफूले मासिक एक हजार डलर शेर्पा दम्पत्तिलाई बुझाउने गरेको उनको भनाइ छ ।