प्रचण्डको निर्देशन– अबको चार महिना सरकारलाई सफल बनाउनमा ध्यान दिनू

प्रकाशित मिति:

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् । शुक्रबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले आफ्नो पार्टीसहितको बाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन अबको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“यो चार महिनाको अवधिमा राजनीतिक रूपमा बाम–लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरू सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्तिविरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढन अध्यक्ष कमरेडले निर्देशन दिनुभएको छ,” श्रेष्ठले भने ।

 

बैठकले शनिबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको कार्यदिशामा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिस्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिस्ट तथा प्रगतिशील शक्तिहरूको मोर्चा बनाउन पहल गर्ने गरी अध्यक्ष दाहाललाई राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्न पनि बैठकले अनुरोध गरेको छ । बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने नेताहरूको बारेमा भने छलफल नभएको माओवादी केन्द्रले जनाएको छ ।