लिफ्टिङ्गको पानीले टर्यो रामपुरबासीको पानीको समस्या

प्रकाशित मिति:

रेडक्रसले गर्यो समुदायलाई योजना हस्तान्तरण

रामेछाप मंसिर १९

रामेछापको सुख्खा ग्रस्त क्षेत्र साबिक रामपुर वडा नं ३ र ४ का नागरिकले अब खानेपानी अभावको अवस्थाबाट मुक्ति पाएका छन् । नेपाल रेडक्रस सोसाइटीले रामपुरमा संचालन गरेको भुकम्प प्रतिकार्य कार्यक्रमको सहयोगमा गाउँ नजिक पानीको मुहान नभएको अवस्थामा गुरुङ्ग खोलाबाट पानी लिफ्टिङ्ग माध्यमबाट बस्तीमा ल्याइ पानी पुराउन संभव भएको हो । हालै मात्र उक्त क्षेत्रमा बालकन्या खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ । खानेपानी योजनाको आज ( बुधबार) एक कार्यक्रमका बिच नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष संजिब थापाले उद्घाटन तथा हस्तान्त्रण गरे ।

 

हस्तान्त्रण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले प्राबिधिक रुपमा चुनौतीपुर्ण रहेको योजना समुदायको सक्रियता र अन्य सहयोगी निकायको सक्रिय सहभागिता र सहयोगमा सम्पन्न भएको भन्दै धन्यवाद दिए । थापाले योजना सम्पन्न भएसँगै यसको दीगोपना र संरक्षणको जिम्मेवारी समुदायमा गएको भन्दै यस तर्फ उपभोक्ता तथा स्थानीय तहबाट आवश्यक सक्रियता जनाउन आग्रह गरे । बिगत ३ बर्ष देखी बिभिन्न क्षेत्रमा काम गर्दै आइरहेको कार्यक्रमलाई आर्थिक रुपमा सहयोग गरेको रेडक्रसको अन्तराष्ट्रिय महासंघका एसिया क्षेत्रिय निर्देशक ह्याभिएर मास्टेलानोसले योजना सम्पन्न गर्न समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै खानेपानी जीवनसँग जोडिएको कुरा भएकोले यसको संरक्षण गर्न सबैले आआफ्नो क्षेत्रबाट सक्रियता देखाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले सरकारको बिकाशको साझेदारको रुपमा रेडक्रसले ठुलो लगानी गरि बिकाशमा पुराएको योगदानमा स्रहाना गरे ।

रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले भुकम्प पश्चात पुन ः निर्माणको चरणमा निर्माण गरेका खानेपानी योजनाहरु मध्ये रामेछापकोे रामपुरमा निर्माण भएका आइतबारे, बालकन्या खानेपानी र कञ्चन खानेपानी योजनाहरु रेडक्रसकै इतिहासमा ठुला र लिफ्टिङ्ग माध्यमबाट भएकोले चुनौतीपुर्ण रहे पनि सबैको प्रयासबाट सफलता पुर्वक सम्पन्न हुन सकेको बताए ।

 

कुल २ करोड ६० लाखमा निर्माण सम्पन्न भएको योजनाबाट स्थानीय २२१ घरधुरीका १ हजार ५ सय ५ जना र २ ओटा सामुदायिक बिद्यालय लाभाम्बित भएको कार्यक्रम संयोजक जयराम बस्नेतले जानकारी दिए । कार्यक्रमबाट यस अघि आइतबारे लिफ्टिङ्ग खानेपानी योजना निर्माण सम्पन्न भइ समुदायमा हस्तान्त्रण समेत भैसकेको र अर्को कञ्चन लिफ्टिङ्ग खानेपानी योजना निर्माणको अन्तिम चरणमा रहेको बस्नेतले बताए ।

रेडक्रस रामेछापका सभापति शिब कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, नेकपाका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सचिब लेख बहादुर कार्की, वडा अध्यक्ष भिम बहादुर तामाङ्ग , पत्रकार महासंघका बद्री नयाँघरे लगायतले मन्तव्य राखेका थिए । स्थानीयको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा बाजागाजा सहित स्वागत तथा बिच बिचमा स्थानीय संस्कृति अनुसारका नाँचगान समेत गरिएको थियो ।