समाज र क्रान्तिको मागअनुसार क्रान्तिकारी पार्टीमा रूपान्तरण गर्ने माओवादी केन्द्रको संकल्प
माओवादी केन्द्रले समाज र क्रान्तिको मागअनुसार क्रान्तिकारी पार्टीमा रूपान्तरण गर्ने संकल्प गरेको छ । शनिबार र आइतबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले वैचारिक, सांस्कृतिक रूपान्तरण र जस्तोसुकै कठोर संघर्षबाट गुज्रेर पनि माओवादी केन्द्रलाई आजको नेपाली समाज र क्रान्तिले माग गरेअनुसारको क्रान्तिकारी पार्टीको रूपमा रूपान्तरण गर्ने संकल्प गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले विचारको विकास र रूपान्तरणसहित क्रान्तिकारी पार्टी निर्माणको संकल्पको ऐतिहासिक बैठक भएको बताएका छन् ।
बैठकले राजनीतिक र संगठनात्मक प्रतिवेदन सुझावसहित पारित गरेको छ । बैठकले समसामयिक राजनीतिक विषय, पार्टी जीवन र जनजीविकाका विषयमा विभिन्न निर्णय गरेको छ ।