एमाले विभाजित: एमाले समाजवादी दर्ताका लागि ३१ सांसद र ५८ केन्द्रिय सदस्यले दिए निवेदन
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले मंगलबार सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसँगै नेपाल पक्ष बुधबार आयोग पुगेर दल दर्ताको निवेदन दिएको हो । पार्टीको संयोजकमा नेता नेपाल रहेका छन् भने झलनाथ खनाल बरिष्ठ नेता रहेका छन् ।
नेपाल पक्षले पार्टीको चुनाव चिन्ह भने अहिले प्रस्ताव नगरेको र यसका लागि छलफलमै रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिएका छन् ।पाण्डेले एमालेका ५८ जना केन्द्रिय सदस्यले नयाँ दल दर्ताको निवेदन दिएको जानकारी दिएका छन् ।पाण्डेले नेकपा एमाले ९समाजवादी० नाम दर्ता गर्न निवेदन दिएको बताए । उनले दल दर्ताको प्रमाणपत्र पाएपछि राष्ट्रिय सम्मेलन गर्ने बताए । पाण्डेले एमालेमा अलमलिएर रहेका नेता कार्यकर्ताहरुलाई एमाले समाजवादीमा आउन आपिल समेत गरेका छन् ।
नेता पाण्डेले प्रतिनिधि सभा र राष्ट्रियसभाका ३१ सांसद रहेको र ९५ सदस्यीय केन्द्रिय समिती बनाएको जानकारी दिए । नेपाल पक्षले सामेल गरेको केन्द्रिय सदस्यमा वामदेव गौतम नरहेको पाण्डेले जानकारी दिएका छन् ।