प्रचण्डको अस्थिर चरित्रले गर्दा नै नेकपाभित्र उत्पन्न संकट : शंकर पोखरेल

प्रकाशित मिति:

बुटवल, २ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज शंकर पोखरेलले नेकपाभित्र उत्पन्न संकटको कारक पुष्पकमल दाहाल (प्रचण्ड) रहेको बताएका छन् । उनले प्रचण्डको अस्थिर चरित्रले गर्दा नै पार्टीमा यो अवस्था आएको उल्लेख गरे ।

नेकपा एमाले बुटवल उपमहानगर कमिटी, रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको विधान संशोधन मस्यौदामाथिको छलफल तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पार्टी विभाजन गरी केही नेता जादैमा कार्यकर्ता नजाने दावी गरे । उनले एमाले आस्था र विश्वासले बनेको पार्टी भएकाले कसैले टुक्राउन चाहेर नटुक्रिने बताए । ‘एमाले कम्युनिष्ट आन्दोलनको मूलधार हो, केही नेताहरु बहकावमा परेर बाहिरिए पनि उहाँहरुलाई ठिक गर्ने काम कार्यकर्ताको हो, पोखरेलले भने, ‘नेता जान्छन् तर जनता जादैनन् ।’नेता पोखरेलले जीवनका कठिन १५ वर्ष जेल जीवन बिताएका पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक जीवन समाप्त पार्ने खेल भएको जनाउँदै औलीको पार्टी र देशप्रतिको निष्ठामाथी प्रश्न गर्नु भनेको कु को प्रयास भएको बताए ।

‘केपी ओली संसदीय दलको नेता नभएको भए संविधानसभाले संविधान बनाउन सक्ने थिएन, जसले संविधान निर्माण निर्णयक भूमिका खेल्यो उसैलाई राजनीतिबाट हटाउन खोज्ने कम्युनिष्ट आन्दोलनका गद्दार हुन् ।’ विभाजित कम्युनिष्टलाई एक बनाउन, मुलुकमा ठूला विकास निर्माणका काम अघि बढाउन तथा राष्ट्रिय स्वाभिमानको सवालमा ओली नेतृत्वको सरकारले नयाँ उचाइ हासिल गरेको उनको भनाइ थियो । ‘ओलीको नेतृत्वले सामाजिक अराजकतालाई समेत नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्यो । उहाँको भूमिकाबारे भ्रम छरेर नेपाल पक्षले आफ्नो स्तर घटाएको छ, ’उनले भने ।

भूमिगत कालमा संगठन बनाउन भूमिका खेले पनि एउटा बलियो पार्टीलाई तेस्रो दल बनाएका कारण माधव नेपाल नेतृत्वका हिसाबले असफल नेताका रुपमा परिचित भएको पोखरेलले बताए । कार्यक्रममा एमाले रुपन्देहीका इञ्चार्ज दधिराम न्यौपानेले अहिले बाटो बिराएका नेतालाई समयले पाठ सिकाउने बताए ।कार्यक्रममा एमालेका नेताहरु एकराज विश्वकर्मा, नेत्र पन्थी, शिवराज सुवेदी, सावित्रा अर्याल, तेजेन्द्र केसी, किसन ज्ञवाली लगायतले बोल्दै पार्टीलाई बलियो बनाउन प्यानल निषेध गर्ने, सदस्यता नविकरण सहज बनाउने लगायतका विषयमा विधान संसोधन हुनुपर्ने बताए । बटवल उपमहानगर कमिटिले सबै वडाबाट विधान संशोधन मस्यौदामाथि सुझाव लिने कमिटीका अध्यक्ष बाबुराम पन्थीले जानकारी दिए । एमाले आगामी भदौमा विधान अधिवेशनको तयारी गरेको जनाएको छ ।