जापान सरकारले निमार्ण गरेका पाँचवटा पुल हस्तान्तरण

प्रकाशित मिति:

काठमाडौं – जापान सरकारले बाह्रकिलो–बारपाक सडक आसपासमा निर्माण गरेको पाँचवटा पुल हस्तान्तरण गरेको छ। सोमबार एक समारोहबीच नेपालका लागि जापानी राजदूत मासामिची साइगो र जाइका नेपालका प्रमुख युमिको आसाकुमाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठमार्फत औपचारिक रुपमा नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्। जापानको अनुदान सहयोगबाट दरौंदी, घट्टे र राङरुङ खोलास्थित पुलको निर्माण गत असारमा सम्पन्न गरिएको थियो। त्यसैगरी, खहरे खोला र झ्याल्ला खोलाको पुल जाइकाको प्राविधिक सहयोग अन्तर्गतको परियोजनाबाट निर्माण गरिएको जाइका नेपालले जानकारी दिएको छ।

हस्तान्तरण समारोहमा जापानी राजदूत साइगोले पुल निर्माणसँगै नेपाल र जापानबीचको सम्बन्ध अझ प्रगाढ बनेको बताए। नवनिर्मित ती पुलले गोरखाबाट अब अन्य क्षेत्र, बजार, समुदाय तथा सहरबीच आवतजावतमा सहज बनाउने उनको भनाइ छ। राजदूत साइगोले पुलको प्रयोगबाट गोरखा र वरपरका जिल्लाको आर्थिक क्रियाकलाप बढाउनसमेत सहयोग पुग्ने बताए।जाइका नेपालका प्रमुख आसाकुमाले नवनिर्मित पुलमार्फत गोरखा तथा आसपासका जिल्लामा सामाजिक एवं आर्थिक विकासमा थप ऊर्जा प्रदान हुनेमा आशावादी रहेको बताइन्। जाइकाको ‘भूकम्पपश्चातको पुनर्निर्माणप्रतिको प्रतिबद्घता, अझ सुदृढ पुनर्निर्माण’ कार्यलाई निरन्तरता दिइने उनले बताइन्। ‘नवनिर्मित पुलबाट यस जिल्लाका स्थानीयबासी लाभान्वित हुनुका साथै जीविकोपार्जन सहज हुने अपेक्षा छ,’ आसाकुमाले भनिन्, ‘यी पुलहरु नेपाल र जापानबीचको लामो इतिहास बोकेको सुमधुर सम्बन्धको प्रतीकका रुपमा रहनेछन्।’ नवनिर्मित पाँचवटै पुललाई ‘जापानिज पुल’ नामाकरण गरिएको उनले जानकारी दिइन्।

समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले पुल निर्माण गरी हस्तान्तरण गरेकोमा जापान सरकारलाई धन्यवाद दिएका थिए। नेपालको पूर्वाधार विकास लगायत विभिन्न क्षेत्रमा जापानले पु¥याइरहेका सहयोगबाट दुई देशको सम्बन्ध सुमधुर बनाउन ठूलो मद्दत पुगेको बताउँदै उनले आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने अपेक्षा व्यक्त गरे। २०७२ सालको गोरखा भूकम्पपछि ६ महिनाभित्रै दुई मुलुकबीच भूकम्पपछिको अत्यावश्यक पूर्वाधारको पुनरुत्थान तथा पुनर्निर्माणका लागि अनुदान सहयोगसम्बन्धी तीनवटा नयाँ परियोजनामा सम्झौता भएको थियो। त्यसै अन्तर्गत ‘बाह्रकिलो–बारपाक सडकमा पुल निर्माण सहपरियोजना’ कार्यान्वयनमा ल्याइएको जाइकाले जनाएको छ। भूकम्पपश्चातको पुनर्निर्माण तथा पुनरुत्थान कार्यक्रम अन्तर्गतको उक्त परियोजनाका लागि ९३ करोड जापानी येन बराबरको रकम पुल निर्माणका लागि छुट्याइएको थियो,’ जाइका नेपालद्वारा सोमबार जारी विज्ञप्तिमा छ, ‘जसको मुख्य उद्देश्य गोरखा जिल्लामा सञ्चालित पुनर्निर्माण कार्य शीघ्र कार्यान्वयन गर्ने र त्यस वरपवरका प्रभावित क्षेत्रमा सहज आवतजावतको वातावरण सिर्जना गर्नु थियो।