नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टको राजिनामा स्वीकृत

प्रकाशित मिति:

काठमाडौं । सरकारले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा। महेन्द्र बिष्टको राजिनामा स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बिष्टको राजिनमा साउन २२ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए ।

बिष्टले प्रधानमन्त्री एबम् सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवा समक्ष गत साउन २१ गते राजीनामा बुझाए पनि राजिनमा बुझाएको १४ औँ दिनमा बसेको मन्त्रिपरिषद् बैठकले राजिनमा स्वीकृत गरेको हो । तत्कालिन प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ३ वर्ष अघि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

नेपाल टेलिभिजनले सुधारको नयाँ इँटा थपेको बिष्टको दाबी

नेपाल टेलिभिजनले सुधारको नयाँ इँटा थपेको नेपाल टेलिभिजनका पूर्व कार्यकारी अध्यक्ष डा। महेन्द्र बिष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत दाबी गरेका छन् । ३८ महिनो आफ्नो कार्यकालमा नेपाल टेलिभिजनका सबै च्यानललाई एचडी प्रविधिमा रुपान्तरण गर्ने, रुग्ण आयोजनाको रुपमा रहेको इटहरी प्रसारण केन्द्रको भवन निर्माण कार्य सम्पन्न गरी एनटीभी इटहरी च्यानल सञ्चालन गर्ने, लामो समयदेखि हप्ताको केही घण्टा मात्र उत्पादनमा सीमित रहेको एनटीभी कोहलपुर प्रसारण केन्द्रलाई एनटीभी कोहलपुर च्यानलका रुपमा समाचार बुलेटिनसहित दैनिक सात आठ घण्टाको कार्यक्रम उत्पपादनसहित चौबीसै घण्टा नियमित प्रसारणमा ल्याउने काम गरेको उनको दाबी छ ।

यस्तै डिजिटल प्लेटफर्ममा नेपाल टेलिभिजनको बलियो उपस्थिति गराउने, संस्थानको व्यापार विस्तार गरी ३ वर्ष अघिको तुलनामा करिव ३३ प्रतिशतले बृद्धि गर्ने जस्ता काम भएका पनि उनको दाबी छ । यस्तै समाचार निर्देशिका, शैली पुस्तिका, ड्रेस कोड, कार्यक्रम मापदण्ड, खर्च नियन्त्रण कार्यविधि जारी गर्नुका साथै संस्थाको विद्यमान कानुन, संगठन संरचना, व्यावस्थापकीय शैली र रणनीतिमा पनि परिवर्तन आफ्नो नेतृत्वमा भएको उनले बताए ।

यस अवधिमा नेपाल टेलिभिजनको विषयवस्तु, प्रस्तुति, प्रविधि र व्यापारमा भएको उल्लेखनीय सुधारले नेपाल टेलिभिजनको आर्थिक अवस्था सुदृढ हुनुका साथै लोकप्रियता र साख बढेको पनि उनको विस्वास छ । नेपाल टेलिभिजनले सुधारका यी प्रक्रियामा नयाँ इँटा थप्दै चालु आर्थिक वर्षमा नै विश्वमा नेपालको उपस्थिति अझ बलियो बनाउन एनटीभी वल्र्ड सञ्चालन गर्ने तयारी भएको र शैक्षिक र मौसम च्यानल सञ्चालन गर्ने योजना पनि अघि बढेको उनले बताए ।

सिंहदरवार प्लाजामा अडिटोरियम हलसहितको बहुतले भवन निर्माणको साथै एनटीभीलाई विपतसम्बन्धी विषयको कार्यक्रम उत्पादन र प्रसारणमा नेतृत्वदायी र उदाहरणीय च्यानल बनाउन जापान सरकारको प्राविधिक सहयोगमा नयाँ परियोजना सञ्चालनको तयारी पनि अघि बढाएको उनले उल्लेख गरेका छन् ।