सैनामैनामा स्वयंसेवक दिवस मनाईयो

प्रकाशित मिति:

विष्णु खत्री,सैनामैना ।
बुधबार अन्तरराष्ट्रिय स्वयंसेवक दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । स्वयंसेवाको क्षेत्रमा सक्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले बुधबार विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् ।  यसैबिच रुपन्देहीको सैनामैनामा पनि नेपाल युवा संस्था संजाल (आयोनको) आयोजनामा ‘सामुदायिक सबलीकरणमा स्वयंसेवक’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कार्यक्रम डब्लु.एच.ओ.का बिज्ञ नमराज खत्रीले स्वंयसेवकको अर्थ, स्वंयसेवक को हो ? र विपद व्यवस्थापनका विभिन्न चरणहरु जलवायु परिवर्तन लगायतका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रमका प्रमख प्रशिक्षक समेत रहेका खत्रीले विपद् व्यवस्थापनमा युवाले निभाउनुपर्ने भुमिकाको विषयमा समेत प्रस्ट पार्नुभयो । ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रमुख प्रहरी निरिक्षक केशव बहादुर बस्नेतले आफु सैनामैना क्षेत्रमा आईसकेपछि कुनै पनि प्रकारको प्राकृतिक प्रकोपको सामना गर्नु नपरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले भविष्यमा हुन सक्ने प्रकोपलाई ध्यानमा राखी यसप्रति सबै जना सजक हुनुपर्नेमा जोड दिनुभयो । समाजसेवी रामप्रसाद अधिकारीले स्वयंसेवा सामाजिक क्षेत्रको विशिष्ट अंग भएको र जटिल परिस्थितिमा पनि स्वस्फूर्तरुपमा तत्काल सहयोग पुर्याउन तत्पर हुन युवाहरुलाई आग्रह गर्नुभयो ।

समुदायिका सबलीकरणमा स्वयंसेवक पनि एक महत्वपुर्ण तालिम रहेको नगरका योजना प्रमुख सुरज न्यौपानेले बताउनुभयो । नगरस्तरीय विपद् जोखिम व्यवस्थापन समितीका सदस्य सचिव समेत रहेका न्यौपानेले भविष्यमा आईपर्ने जोखिमलाई व्यवस्थापन गर्न सैनामैनामा रहेका सम्पुर्ण स्वयंसेवकहरुलाई सरल,प्रभावकारी एवम् गुणस्तरीय तालिम संचालन गर्ने बताउनुभयो । न्यौपानेले नगरपालिकाको योजना सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।प्रशिक्षण कार्यक्रममा महेश अधिकारी,प्रिंयका भण्डारी र सुरेश परियारले स्वयंसेवक भई सामाजिक क्षेत्रमा काम गर्दाका अनुभव सुनाएका थिए । साथै सहभागीहरुले स्थानिय सरकारलाई ध्यानआकर्षण गराउन मागपत्र समेत तयार पारेका छन् । कार्यक्रम आयोनका कार्यसमिती सदस्य तथा कार्यक्रम संयोजक निरज बागको अध्यक्षता,प्रमुख प्रशिक्षक नमराज खत्री,ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रमुख प्रहरी निरिक्षक केशव बहादुर बस्नेत,समाजसेवी रामप्रसाद अधिकारीको आतिथ्यतामा भएको हो ।
आयोनका प्रदेश संयोजक थानेश्वर अधिकारीको सहजीकरणमा सम्पन्न कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो । युएन,भिएओ,रेलिज ईन्टरनेशनलको सहयोग रहेको सो कार्यक्रम सात वटै प्रदेशमा सम्पन्न भएको छ ।