वालिङ ; स्याङ्जाको वालिङ नगरपालिका १२ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी ८४ जना नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नवआगन्तुक तथा नवप्रवेशीहरुलाई नेपाली काँग्रेस गण्डकी प्रदेशका सचेतक तथा साँसद भागवतप्रकाश मल्ल, वालिङ र चापाकोट नगरपालिकाका नगर प्रमुखहरुले एक कार्यक्रमकाबीच स्वागत तथा पार्टीको सदस्यता वितरण गर्नुभएको हो ।
कार्यक्रममा कांग्रेस प्रदेश सभा सचेतक भागवतप्रकाश मल्लले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै सदैव सँगै सुख दुःखमा हातेमालो गर्दै पार्टीको हितमा काम गर्ने बताउनुभयो । कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचार र वेथितीमा बोल्न समेत नपाएका कार्यकताहरु अभिव्यक्ति स्वतन्त्रताको पक्षपाति नेपाली काँग्रेसनै नेपालको भुगोल सुहाउँदो भएको बताउँदै आगामी दिनमा सँगसँगै हिड्ने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका नगर प्रमुख दिलिपप्रताप खाँण, चापाकोट नगरपालिकाका नगरप्रमुख शिवकुमार गिरी, नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी, नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ क का प्रदेश सभापति अर्जुनप्रकाश अर्याल, काँग्रेस महाधिवेशन प्रतिनिधिहरु गुरुप्रसाद भट्टराई, महेन्द्र श्रेष्ठ, विष्णु पौडेल, खगिसरा भण्डारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । नेपाली काँग्रेस वडा नं १२ का सभापति श्याम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन काँग्रेस वडा सचिव नेत्रप्रसाद पराजुलीले गर्नुभएको थियो ।