हात गुमाएकी सुत्केरीलाई विश्वप्रकाशको सहयोग

प्रकाशित मिति:

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एउटा हात र श्रीमानको साथ गुमाएकी सुत्केरीलाई घर बनाउन जग्गा किनिदिएका छन्। ‘चौबिस दिनकी सुत्केरीको बिचल्ली’ भएको समाचार पढेपछि शर्माले आफ्ना छोरा शीर्षकको जन्मदिनमा देवी मेचेलाई घर बनाउन मेचीनगर ९ मा ७ धुर जग्गा किनिदिएका हुन्। दोस्रो पटक सुत्केरी भएको सात दिनमा उनका श्रीमानको मृत्यु भएको थियो। दस वर्षअघि करेन्टले उनले दाहिने हात गुमाएकी थिइन्। देवी मेचे अभियान समिति मेचीनगर झापाले शुक्रबार धुलाबारीमा गरेको पत्रकार सम्मेलनमा सहभागी शर्माले सुत्केरी मेचेलाई घर बनाउन जग्गा किन्ने बताएका थिए।

शर्माका अनुसार जग्गामा घर, आवश्यक फर्निचर, वार्षिक खर्च, देवीका छोरीहरुको शिक्षा र स्वास्थ्यका लागि सहयोग गरिन्छ। पाँच लाख रुपैयाँको कोष खडा गरेर त्यसबाट आउने ब्याजले मेचे परिवारको वार्षिक खर्च धानिदिने योजना छ।