कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना

प्रकाशित मिति:

काठमाडौं, भदौ ८ : कांग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्नेलगायत माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रूप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायत माग उनीहरूले गरेका छन् । धर्नामा कांग्रेस नेताहरू अर्जुननरसिंह केसी, डा। शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगन थापालगायतले ऐक्यबद्धता जनाएका छन् ।

यसअघि ५ भदौमा जिल्ला सभापतिहरूको तर्फबाट काभ्रेका सभापति मधु आचार्यले पार्टी सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आफ्नो मागबारे जानकारी दिएका थिए ।सोमबार राति कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुंग्याइ अन्तिम रूप दिइसकेको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी काम सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइसकिएको छ ।सभापति देउवाले क्रियाशील सदस्यतामा हस्ताक्षर गरेलगत्तै उक्त प्रतिवेदन सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ । सो नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण भएपछि समितिले १८ भदौमा हुने पार्टीको गाउँ–नगर वडा अधिवेशनका लागि १० भदौसम्म सबै जिल्लामा पु¥याइसक्ने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गाउँ–नगर वडा अधिवेशन १८ भदौका लागि तय भएको छ । यस्तै, गाउँ–नगरपालिका अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुँदैछन् । कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १०–१२ कात्तिक र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरका लागि तय गरेको छ ।