देशभर १४६ वडाध्यक्षको पद रिक्त :- प्रमुख निर्वाचन आयुक्त

प्रकाशित मिति:

सप्तरी, २० मंसिर – प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले देशभरका विभिन्न स्थानीय तहमा १४६ वडाध्यक्षको पद रिक्त रहेको बताएका छन् । गत वर्षको निर्वाचनपछि मुलुकभरमा करिब १४६ मुद्दा परेको र तीमध्ये ११५ वटा मुद्दा वडा अध्यक्षकै रहेको उनले बताए ।

निर्वाचन आयोगले राजविराजमा गरेको कार्यक्रममा प्रमुख आयुक्त यादवले तर, मुलुकभरमा खाली रहेको वडाध्यक्षको पदबारे सरकारले ध्यान दिन नदिएको गुनासो पनि गरे । ‘विभिन्न स्थानीय तहका १४६ जनप्रतिनिधिमाथि मुद्दा दायर भएको छ । मुद्दा दायरपछि ती पद रिक्त छन् । त्यसमध्ये ११५ त वडाध्यक्षकै हुन्,’ कार्यक्रममा उनले भने, ‘ती मुद्दामा हालसम्म निक्र्योल हुन सकेको छैन । जनप्रतिनिधिमूलक संस्था जनप्रतिनिधिविहीन हुन पुगेको छ । तर, सरकारले कुनै निर्णय लिएको छैन ।’

स्थानीय तहमा रहेको भूमिका अनुसार रिक्त वडाध्यक्षको पदपूर्ति गर्न निर्वाचन हुन जरुरी रहेको भन्दै उनले यसप्रति नेपाल सरकारले ध्यान नदिएको धारणा व्यक्त गरे । धेरै ठाउँमा रिक्त वडाध्यक्षको पदपूर्ति गर्ने सवालमा निर्वाचन आयोगले सरकारलाई जानकारी गराएको तर, सरकारले चासो नदिएको उनको भनाइ थियो ।

प्रमुख आयुक्त यादवले विवाद न्यूनीकरण गर्न कानुनको पालना गर्नुपर्ने धारणा व्यक्त गरे । विगतको निर्वाचनमा मतदानका वेला मतदान केन्द्रमा मतगणना नगरेका कारण पनि विवाद बढेको भन्दै अबको निर्वाचनमा मतदान केन्द्रमै मतगणना गरेमा कुनै पनि विवाद नहुने विचार उनले व्यक्त गरे । उनले सप्तरी जिल्लामा गत वर्ष शान्तिपूर्वक र विवादरहित निर्वाचन सम्पन्न गराएको भन्दै स्थानीय, सुरक्षाकर्मी, प्रहरी प्रशासन, जिल्लाका मुख्य निर्वाचन अधिकृतलगायत जिल्लावासीलाई धन्यवाद व्यक्त गरे ।

रासस