मौसम बदली भई अचानक चिसो बढ्यो, उपत्यकाको तापक्रम शुन्यमा झर्ने अनुमान

प्रकाशित मिति:

२० मंसिर, काठमाडौ । मौसम बदली भई अचानक चिसो बढेको छ । वायु प्रदुषण तथा पश्चिमी हावाको प्रभावका कारण केही दिनयता काठमाडौँ उपत्यकालगायत मुलुकभरि नै चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् मीनकुमार अर्यालले मौसमी प्रभाव तथा पश्चिमी हावाका कारण दिउँसो बादल लाग्दा चिसो बढ्दै गएको बताए । उनले मुलुकभरिकै तापक्रम घट्ने क्रममा रहेको जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको तापक्रम ६ डिग्रीसम्म पुगेको छ । हिजो न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस थियो ।

विगतझैँ यस वर्ष पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सियसमा झर्ने अनुमान महाशाखाको छ ।

उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।