योगेश भट्टराईले भने– भरतमणिको प्रतिभाले देशको सीमा छिचोल्ने छ

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले कमेडियन भरतमणि पौडेलको प्रतिभाले देशका सीमा छिचोल्ने बताएका छन् । शनिबार साँझ रियालिटी शो कमेडी च्याम्पियनमा उनको प्रस्तुति हेरेपछि नेता भट्टराईले भरतमणिको प्रतिभाले नेपालको सीमा पार गर्ने बताएका हुन् ।“आजको धमकेदार र बबाल प्रस्तुतिले अब निर्धक्क भन्न सकिन्छ ताप्लेजुङ् ९पाथिभरा० को शिरबाट उदाएका भरतमणि पौडेल एकपछि अर्को भूगोललाई छिचोल्दै आफ्नो प्रभावलाई राष्ट्रब्यापी बनाउन सफल भएका छन्,” योगेशले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “राम्रो अवसर पाए र आफैंले अझ मिहिनेत गरे भने उनको प्रतिभाले देशको सीमालाई छिचोल्ने छ ।”

 

शनिबार साँझ भरतमणिले पूर्व युवराज पारस शाहको हुबहु नक्कल गरेर प्रस्तुति दिएका थिए । सोही प्रस्तुतिका कारण भरतमणि पफर्मर अफ द राउन्ड हुँदै फाइनल प्रवेश गरेका छन् ।भरतमणिलाई योगेशले सहयोग गर्दै आएका छन् । यसअघि उनले भरतमणिलाई हास्यव्यंग्य क्षेत्रको उदाउँदो मणि भन्दै भोटका लागि अपिल गरेका थिए ।योगेशको पहलमा यसअघि नै भरतमणिलाई ६ लाख रुपैयाँ राशिको पुरस्कार घोषणा गरिएको छ । योगेशको संयोजनमा उनले व्यक्तिगत रूपमा एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको छ ।उक्त पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिने जनाइएको छ । आफ्नै क्यारिकेचर हेरेपछि योगेश भरतमणिका पक्षमा उभिएका थिए ।