मिडियामा महिलाको उपस्थिती न्यून, पुरुषकै बाहुल्यता

प्रकाशित मिति:

काठमाण्डौं, १३ भदौ । नेपालका आमसञ्चार माध्यमहरुमा महिलाको उपस्थिती न्यून रहेको हालै सार्वजनिक भएको एक रिपोर्टले देखाएको छ । अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा स्रोत संस्था (अस्मिता) ले भर्चुअल माध्यमबाट सार्वजनिक गरेको रिपोर्टले नेपालका आमसञ्चार माध्यमहरुमा महिलाको उपस्थिती न्यून रहेको देखाएको हो ।

विश्वका समाचार र संचार माध्यमहरुमा लैंगिक प्रतिनिधित्व हेर्ने उद्देश्यले संचालित ग्लोबल मिडिया मोनिटरिंङ प्रोजेक्ट (जीएमएमपी) ले नेपालमा गरेको अध्ययन र अनुसन्धानले नेपालका आमसंचार माध्यमहरुमा पुरुषकै बाहुल्यता रहेको देखाएको हो । संस्थाले सार्वजनिक गरेको छैठौं (जीएमएमपी) २०२० को रिपोर्ट अनुसार नेपालको पत्रकारिता तथा आमसंचार माध्यमहरुमा महिलाको उपस्थिती २४ प्रतिशत मात्रै रहेको देखाएको छ । संस्थाले हरेक पाँच बर्षमा गर्ने अध्ययन र अनुसन्धानको तथ्यांकलाई हेर्दा सन् २०१५ देखि २०२० सम्म पाँच वर्षको अन्तरालमा नेपालको आमसञ्चार तथा पत्रकारीताको क्षेत्रमा महिलाको प्रतिनिधित्व केवल १ प्रतिशत मात्रै बृद्धि भएको देखाएको छ । जुन सन् २०१५ मा २३ प्रतिशत रहेको थियो ।

यस्तै मिडियामा समाचारदाता (रिपोर्टर) का आधारमा महिलाको उपस्थिती हेर्दा छापामा २० प्रतिशत, टेलिभिजनमा १६ प्रतिशत र रेडियोमा ४६ प्रतिशत महिलाको प्रतिनिधीत्व रहेको छ भने समाचार बाचक तथा प्रस्तोताका रुपमा महिलाको उपस्थिती हेर्दा टेलिभिजनमा ६९ प्रतिशत र रेडियोमा २१ प्रतिशत रहेको पाईएको छ । संस्थाले गत सेप्टेम्बर २९ मा नेपालका केही प्रमुख सञ्चारमाध्यमहरुबाट प्रकाशन र प्रशारण भएका ४ सय ३४ वटा समाचारहरुलाई लैंगिक दृष्टिकोणले अध्ययन र अनुगमन गरेको थियो । जसमा १३ वटा छापा, ५ वटा टेलिभिजन, ६ वटा रेडियो, ५ वटा अनलाइन र ३ ट्वीटर गरि जम्मा ३२ वटा सञ्चारमाध्यमबाट प्रकाशित र प्रशारीत सामाग्रीलाई आधार बनाएको थियो । रिपोर्ट अनुसार समाचारका श्रोतका रुपमा महिलाको प्रतिनिधित्व इन्टरनेट र ट्वीटरका सेलिब्रेटि, आर्ट, मिडिया र स्पोर्टसंग सम्बन्धीत समाचारमा सबैभन्दा बढी ६७ प्रतिशत रहेको पाईएको छ भने सबैभन्दा कम छापा, रेडियो र टेलिभिजनका राजनीति, गर्भमेन्ट, साइन्स र हेल्थसंग सम्बन्धीत समाचारमा पाईएको छ । जुन १० प्रतिशत मात्रै रहेको छ ।

त्यस्तै समाचार बनाउने गतिविधिलाई केलाउदा छापामा सबैभन्दा कम २० प्रतिशत महिलाको उपस्थिति रहेको छ भने रेडियोमा २४ प्रतिशत र टेलिभिजनमा ४९ प्रतिशत महिलाको उपस्थिति रहेको अध्ययनले देखाएको छ । समग्र समाचार र अन्तर्वाताका गतिविधि हेर्दा छापा, रेडियो र टेलिभिजनमा महिलाको उपस्थिति २३ प्रतिशत रहेको पाईएको छ भने इन्टरनेट र ट्वीटरमा २५ प्रतिशत रहेको छ । समाचारको श्रोत व्यक्तिका रुपमा पनि महिलाको उपस्थिति राजनीति र सरकारसँग सम्बन्धी समाचारमा १० प्रतिशत मात्रै देखिएको छ भने छापा, रेडियो तथा टेलिभिजनका जेन्डर रिलेटेड समाचारमा ४३ प्रतिशत देखिएको छ । थोरै मात्र समाचारहरुले जेन्डर इक्वालिटि, इन्इक्वालिटि, कानुन तथा नीतिको कुरा नेपाली मिडियाले अत्यन्त न्युन रुपमा उठाउने गरेको रिर्पोटले देखाएको छ । अझै पनि बाइलाइन समाचार कभर गर्ने महिला पत्रकारको तुलनामा पुरुष पत्रकारकै संख्या बढी देखिएको छ ।

यस्तै कोभिडसंग सम्बन्धीत समाचार कति आए भनेर गरिएको अध्ययनमा सबैभन्दा बढी २९ प्रतिशत इन्टरनेटमा पाईएको छ भने सबैभन्दा कम छापामा १२ प्रतिशत मात्रै प्रकाशित भएको पाईएको छ । रिर्पोट अनुसार समाचारमा बढी व्यक्तिगत अनुभव व्यक्त गर्नेमा पनि महिला नै पाईएको छ । एक्सपर्ट र स्पोकपर्सनका रुपमा महिलाको उपस्थिति शुन्य रहेको पाईएको छ भने सत प्रतिशत पुरुषकै प्रतिनिधित्व रहेको पाईएको छ । रिपोर्ट अनुसार नेपाली मिडिया अझै पनि लैंगिक दृष्टिकोणले त्यति संवेदनशिल नभएको र लैंगिक समानताको आन्दोलनमा नेपाली मिडियाले महत्वपूर्ण भूमिका खेल्न नसकेको देखिएको छ ।

यस्तै छैठौं ग्लोबल मिडिया मोनिटरिंग प्रोजेक्ट (जीएमएमपी)ले सार्वजनिक गरेको रिपोर्टले विश्वका आमसंचार माध्यमहरुमा पुरुषकै बाहुल्यता रहेको देखाएको छ । प्रोजेक्टले सार्वजनिक गरेको छैठौं (जीएमएमपी) २०२० को रिपोर्ट अनुसार बिश्वका आमसंचार माध्यमहरुमा महिलाको उपस्थिती ४० प्रतिशत रहेको छ । प्रोजेक्टको अध्ययन अनुसार सन् २०१५ को तुलनामा ३ प्रतिशत बृद्धि भएको देखिन्छ । जुन सन् २०१५ मा ३७ प्रतिशत रहेको थियो । विश्वका मिडियामा संख्याको हिसाबले प्रगति देखिए पनि गुणात्मक हिसाबले भने उत्साहजनक नदेखिएको अध्ययनले देखाएको छ । विश्वका आमसंचार माध्यममा लैंगिक समानताको दुरी घटाउन अझै ६७ वर्ष लाग्न सक्ने अनुमान समेत गरिएको छ ।

हरेक पाँच वर्षमा हुने यो अध्ययन सन् १९९५ बाट सुरु भएको हो । ग्लोबल मिडिया मोनिटरिंङ प्रोजेक्ट (जीएमएमपी) ले नेपाल सहित बिश्वभरका १ सय १६ वटा देशमा अध्ययन तथा अनुसन्धान गरेको थियो । ग्लोबल मिडिया मोनिटरिंङ प्रोजेक्टको नेशनल कोअर्डिनेटिंग सस्थाको रुपमा संलग्न रही अस्मिता महिला प्रकाशन गृहले लैगिंक समानता र महिला सशक्तिकरणका लागि नेपालमा काम गर्दै आएको संस्थाका कार्यकारी निर्देशक सरिता श्रेष्ठले बताउनुभयो ।