सानिमा लाईफको आईपीओ डिम्याट खातामा आयो

प्रकाशित मिति:

सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SLI सिम्बाेल पाएकाे छ । हाल कम्पनीकाे उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । यसै साता सूचीकरण सम्पन्न गरी काराेबार सूरू गर्ने तयारी गरिएकाे छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन् ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । ग्राेलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए ।

कम्पनीको आईपीओमा २४ लाख १९ हजार ८ सय ४८ आवेदकबाट ३ करोड ६९ लाख ५१ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेकाे थियाे ।नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०३ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ १७ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३०९ रुपैयाँ ५१ पैसा हुन्छ । कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।