देउवालाई पौडेलको सुझाव: पार्टीले पाउने मन्त्री नियुक्त गरेर सरकारको काम प्रभावकारी बनाउन
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल पक्षले सरकार विस्तारलाई लिएर चासो देखाएको छ । सरकार गठनको ५०औँ दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै पौडेल पक्षले त्यसले पार्टीको छवि राम्रो नभएको निष्कर्ष निकालेको हो ।मंगलबारको बोहोराटार बैठकबाट पौडेल पक्षले कांग्रेसले पाउने मन्त्रालयको संख्याबारे प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको नेता अर्जुनरसिंह केसीले जानकारी दिए ।
“सरकारका विषयमा हामीले पहिलोपटक चासो व्यक्त गरेका छौँ,” नेता केसीले भने, “झण्डै दुई महिनासम्म हाम्रा सभापतिको सहजताका लागि हामीले सरकारका विषयमा चासो राखेका थिएनौँ । आज हामीले सरकारमा कांग्रेसले पाउने मन्त्रालय कति हो भनेर सोध्ने निर्णय गरेका छौँ ।”उनले झण्डै दुई महिनासम्म सरकार विस्तार नहुँदा सरकारको प्रभावकारिता पनि नदेखिएको र त्यसले पार्टीलाई पनि घाटा पुर्याउने बताए ।“एकातिर सरकार विस्तार नहुँदा मन्त्रालयको प्रभावकारिता स्थापित हुन सकेको छैन । एउटै प्रधानमन्त्रीले धेरै मन्त्रालय हेर्दा प्रभावकारी हुनसक्ने अवस्था पनि भएन,” केसीले भने, “अर्कातिर दुई दुई महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता नदिँदा त्यसले पार्टीको इमेज पनि बिगारीरहेको छ ।”
कांग्रेसले पाउने मन्त्रालयमा नियुक्ति गरेर भएपनि सरकारलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने पोडेल पक्षको भनाइ छ ।आफ्नो पक्षले पाउने मन्त्रालयका विषयमा चासो राख्नुभएको हो भन्ने प्रश्नमा केसीले त्यो विषय पनि स्वाभाविक प्रश्न हुने बताए । “कांग्रेसले यति मन्त्रालय पाउँछ भन्ने भएपछि स्वाभाविक रूपमा पार्टी भित्रको शक्ति सन्तुलका विषयमा चासो हुन्छ । तर, त्यसमा मात्रै हाम्रो चासो होइन,” केसीले भने, “हाम्रो चासो पार्टीको नेतृत्वमा सरकार हुँदा नागरिकमा निराशा बढाउनुहुँदैन । सक्दो प्रभावकारिता देखाएर नागरिक विश्वास लिनुपर्छ भन्ने हो ।”पौडेलले सभापतिका आकांक्षीहरू भन्दै डाकेको बैठकमा नेताहरूले सरकारको प्रभावकारिता र पार्टीभित्रको आन्तरिक लोकतन्त्रको विषयमा पनि प्रश्न उठाएका थिए । सभापतिको साझा उम्मेदवार तय गर्न भोलि पुनः बैठक बोलाउने पौडेल पक्षको तयारी छ ।