लुम्बिनी योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरूद्वारा शपथ ग्रहण

प्रकाशित मिति:

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसीले आयोग उपाध्यक्ष बामदेव क्षेत्रीलाई र उपाध्यक्ष क्षेत्रीले सदस्यहरू डा।दामोदर भुसाल र शिवपुजन यादवलाई पद तथा गोपनीयताको शपथ गराए ।

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री केसीले संघीयताको औचित्य पुष्टि गर्ने गरी योजना बनाउनुपर्ने बताए । संघीयताको सफल कार्यान्वयन अहिलेको आवश्यकता भएको भन्दै मुख्यमन्त्री केसीले योजना आयोगले संघीयताको औचित्य पुष्टि हुने गरी कम जनशक्तिबाट धेरैलाई सेवा प्रवाह गर्ने खालका योजना बनाउन आयोगका पदाधिकारीहरूलाई निर्देशन दिए ।

छोटो समयमा धेरै काम गर्न नसके पनि प्रदेशका गरिब तथा बिपन्न परिवारको जीवनस्तर माथि उकास्ने खालका योजना आवश्यक रहेकोमा जोड दिए । योजना आयोगका नवनियुक्त उपाध्यक्ष क्षेत्री, सदस्य डा। भुसाल र यादवले छोटो समयमा धेरै काम गर्न सम्भव नभए पनि प्रदेशको विकासका लागि के कस्ता योजना आवश्यक छन् भन्ने विषयमा अध्ययन गरेर सोही अनुसारका योजना बनाउने बताए ।