प्रदेश १ का मुख्यमन्त्रीको नियुक्ति बदर गर्न विपक्षी गठबन्धनको माग

प्रकाशित मिति:

१७ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न विपक्षी गठबन्धनले माग गरेको छ ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी आचार्यले बहुमत गमाइसकेको भन्दै नियुक्ति बदरको माग गरेको हो ।नेकपा एमाले विभाजित भएपछि सांसदहरुलाई दल रोज्न दिएको समयमा प्रदेश प्रमुखले आचार्यले मुख्यमन्त्री नियुक्ति गर्नु नै असंवैधानिक भएको विपक्षी गठबन्धनको जिकिर छ ।

दल विभाजनपछि निर्वाचन आयोगले दल रोज्ने समय दिएको अवस्थामा एमालेकै बहुमत छ भन्दै मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरीत भएको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।गठबन्धनले अल्पमतमा परेको सरकारलाई प्रदेशमा दूरगामी प्रभाव पार्ने निर्णय नगर्न पनि आग्रह गरेको छ ।९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेका मात्रै ५१ सदस्य थिए । ती मध्ये १० जनाले बुधबार नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । १० जना सांसदले नयाँ पार्टी रोजेपछि एमालेमा सभामुखसहित ४१ जना सांसद छन् ।

कांग्रेसमा २१, माओवादीमा १५, जसपामा ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक–एक जना सांसद छन् ।बहुमतका लागि ४७ सदस्य आवश्यक रहेको प्रदेशमा गठबन्धनमा ४९ जना सांसद छन् । गठबन्धनमा एक जना सांसद रहेको संयूक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि थपिएको छ ।