रुपन्देहीका होटल र पार्टी प्यालेसमा दर कार्यक्रमको भीडभाड

प्रकाशित मिति:

रुपन्देहीका होटल र पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रम निर्वाध सञ्चालन भइरहेका छन् । होटल र पार्टी प्यालेसहरुले टिकट बिक्री गरी नाचगानसहित दर खाने कार्यक्रम आयोजना गर्न थालेका छन् । यस्ता कार्यक्रमहरुमा कलाकारलाई समेत बोलाउने गरिएको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ १५ गते जारी गरेको निषेधाज्ञाको छैटौं बुँदामा होटल तथा पार्टी प्यालेसमा तीजको दर खाने र नाचगान गर्ने कार्यक्रममा पूर्णरुपमा रोक लगाइएको उल्लेख छ ।प्रशासनले आआफ्नो घरमै स्वास्थ्य मापदण्ड पालना गरेर तीज मनाउन आग्रह गरेपनि व्यवसायी र सर्वसाधारणले अटेर गरेका छन् ।लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। राजेन्द्र खनालले कोरोना संक्रमणको जोखिम अन्त्य नभएको बरु तेस्रो लहर आउन सक्ने प्रक्षेपण भइरहेकाले यसरी भीडभाड गर्न नहुने बताउँछन् ।

‘गत फागुनमा पनि संक्रमण घटेको थियो तर वैशाखमा विवाह ब्रतबन्ध जस्ता कार्यक्रमहरुमा भीडभाड हुँदा फेरि ह्वात्तै बढेको थियो’ डा। खनालले भने, ‘चाडपर्व हो भनेर लापरवाही गर्‍यौं भने फेरि संक्रमण बढ्नसक्छ ।’रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञा उल्लंघन गरेर होटल र पार्टी प्यालेसमा तीजको दर खाने र नाचगान गर्ने कार्यक्रम गरेको थाहा पाए तत्काल बन्द गरिदिने र सञ्चालकलाई नियन्त्रणमा लिइने दावी गरे । ‘हिजो पनि केही होटल व्यवसायीलाई नियन्त्रणमा लिएका हौं’ उनले भने ।

होटल व्यवसायीको असन्तुष्टि स् हामी मात्रै तारो ?

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम चाडपर्वको समयमा ब्यापार हुने आशामा रहेका व्यवसायीमाथि प्रशासनले निषेधाज्ञा लगाउनु व्यवहारिक र न्यायोचित नभएको बताउँछन् ।‘प्रशासनले राजनीतिक दलका कार्यक्रममा हुने भीडभाडलाई छुट दिन्छ, तर लामो समयसम्म बन्द भएर मारमा परेका होटेल व्यवसायीलाई मात्रै तारो बनाएर दुःख दिन्छ’ गौतमले भने–‘स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्नुपर्छ तर व्यवसाय सञ्चालनमा अवरोध गर्न हुँदैन ।’ अनलाईन खबरबाट साभार