दसैंसम्ममा ३३ प्रतिशतलाई खोप : स्वास्थ्य राज्यमन्त्री

प्रकाशित मिति:

काठमाडौँ — स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले दसैंसम्ममा ३३ प्रतिशत जनतालाई कोभिड विरुद्धको खोप लगाउने योजना रहेको बताएका छन् । सोमबारदेखि आयोजना हुने विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रको सम्मेलनबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

उनका अनुसार नेपाललाई कुल ५ करोड ५० लाख खोपको आवश्यकता रहेको छ । जसमध्ये हालसम्म १ करोड ४ लाख खोप लगाइसकिएको उनले बताए ।पहिलो डोज १८ प्रतिशतका हाराहारीले पाएका छन् भने १५ प्रतिशतले पूर्ण डोज खोप लगाइसकेका छन्, उनले भने, दसैंसम्ममा २ करोड ५ लाख डोज खोप जहाँबाट भए पनि ल्याउँछौं । भेरोसेल आगामी १० दिनभित्र ४४ लाख डोज आउने प्रयत्न गर्दैछौं ।

उनले बालबालिकाका लागि ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन लागेको पनि बताएका छन् । त्यसमा मोडर्नाका लागि रकम भुक्तान नै भइसकेको उनले जानकारी दिए ।