नेपालको अध्यक्षतामा भोलिदेखि डब्लुएचओ बैठक बस्दै, महामारी र खोप आपूर्तिबारे छलफल हुने

प्रकाशित मिति:

काठमाडौं । नेपालको अध्यक्षतामा भोलि बिहान पौने दश बजेदेखि विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाको ७४ औं बैठक भर्चुअलरुपमा बस्ने भएको छ ।आइतबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उक्त सत्रमा हुने छलफल र नेपालले पेश गर्ने एजेन्डाबारे जानकारी गराए ।

११ वर्षपछि नेपालले अध्यक्षता गर्ने बैठकमा कोभिड(१९ महामारी नियन्त्रण तथा रोकथाम, खोपको आपूर्ति, गैरकोभिड रोगहरुविरुद्ध जुध्ने रणनीति तथा योजना, सन् २०२३ सम्म दादुरा र रुबेला हटाउने प्रतिबद्धता लगायतबारे छलफल हुने जानकारी गराए ।यसअघि पारित भएका एजेन्डाको कार्यान्वयन र चुनौतिविरुद्ध लड्ने साझा लक्ष्यबारे पनि छलफल हुने भएको छ । स्वास्थ्य सचिव डा। रोशन पोखरेलले कोभिडसहित नसर्ने र मानसिक रोगबारे समेत छलफल हुने बताए ।

दक्षिणपूर्वी एसियाका ११ देशमा कोभिडको खोपको आपूर्तिको अवस्थाबारे पनि छलफल हुने जानकारी उनले गराए ।विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा। राजेश पाण्डवले वार्षिक बेठकमा महामारीको अवस्थामा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न अत्यावश्यक योजनाबारे छलफल हुने जनाए ।भदौ २१ देखि २५ सम्म हुने छलफललाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा। टेड्रोस लगायतका पदाधिकारीले सम्बोधन गर्ने भएका छन् । सत्र चल्ने चारैदिनमा दक्षिणपूर्वी एसियाका स्वास्थ्यमन्त्री समेत सहभागि हुने सो अवसरमा जानकारी दिइयो ।