कांग्रेस महाधिवेशन: ४ हजार १ सय २५ महाधिवेशन प्रतिनिधि आउँदै

प्रकाशित मिति:

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले १४औं महाधिवेशन प्रक्रियाअन्तर्गत तल्लो तहको अधिवेशन भदौ १८ देखि शुरु गरिसकेको छ । कांग्रेसको भदौ १८ बाट प्रारम्भ भएको अधिवेशन वडा, गाउँरनगर, क्षेत्र, जिल्ला प्रदेश हुँदै मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ ।अघिल्लो अधिवेशनमा आमन्त्रितसहित १ सय ३५ सदस्यीय केन्द्रीय समिति रहेकोमा यो अधिवेशनमा १ सय ६१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने गरी विधानमा व्यवस्था गरिएको छ । यो अधिवेशनका लागि ९ लाखको हाराहारीमा क्रियाशील सदस्यता बनाएको कांग्रेसको केन्द्रीय कार्यसमिति चयनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ४ हजार १ सय २५ महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउँदै छन् । केन्द्रीय कार्यसमितिका सदस्य, विदेशस्थित जनसम्पर्क समिति, विभिन्न भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाबाट पनि थप महाधिवेशन प्रतिनिधि आउने व्यवस्था गरिएको छ ।

कांग्रेस केन्द्रीय समितिमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ गरी १३ पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनेछन् । सहमहामन्त्रीको निर्वाचन भने समानुपातिक एवं समावेशी सिद्धान्तको आधारमा हुनेछ । १४औं महाधिवेशनका लागि संशोधन गरिएको विधानमा महिला कोटाबाट एक, आदिवासी जनजाती कोटाबाट एक, दलित कोटाबाट एक, मधेसी कोटाबाट एक, खस आर्य कोटाबाट एक, थारू कोटाबाट एक, मुस्लिम कोटाबाट एक र पीछडिएको क्षेत्रबाट एक जना गरी आठ जना सहमहामन्त्री हुने व्यवस्था छ ।पदाधिकारीका रूपमा रहने कोषाध्यक्ष भने निर्वाचित सदस्य मध्यबाट सभापतिले मनोनित गर्ने व्यवस्था छ । केन्द्रीय सदस्यहरूमा प्रत्यक्ष निर्वाचित कोटा ३५ छ भने प्रत्यक्ष निर्वाचित महिला कोटा ९ रहेको छ । प्रत्येक प्रदेशको प्रतिनिधित्व हुने गरी प्रदेश कोटाबाट एक महिलासहित तीन जनाको दरले २१ जना निर्वाचित हुनेछन् ।

१४औं महाधिवेशनमा समानुपातिक समावेशीको सिद्धान्तका आधारमा निर्वाचित हुने केन्द्रीय सदस्यको संख्या ५४ जना रहेको छ । तीमध्ये दलित महाधिवेशन प्रतिनिधिबाट चार महिलासहित ९ जना र आदिवासी जनजाति महाधिवेशन प्रतिनिधिबाट सात महिलासहित १५ जना निर्वाचित हुने व्यवस्था छ । यसै गरी, खसआर्य महाधिवेशन प्रतिनिधि मध्यबाट छ जना महिलासहित १३ जना, मधेशी महाधिवेशन प्रतिनिधिबाट चार महिलासहित नौ जना, थारू महाधिवेशन प्रतिनिधि मध्यबाट दुई महिलासहित चारजना, मुस्लिम महाधिवेशन प्रतिनिधि मध्यबाट एक महिलासहित तीन जना र पीछडिएको क्षेत्रबाट आएका महाधिवेशन प्रतिनिधिमध्यबाट एक जना केन्द्रीय सदस्यमा निर्वाचित गरिने विधानमा व्यवस्था गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा अल्पसंख्यक र अपांगता भएको कोटाबाट दुई जना निर्वाचित हुने व्यवस्था छ भने केन्द्रीय सभापतिले समावेशी हुने गरी ३३ जना सदस्य मनोनित गर्न पाउने व्यवस्था छ । सभापतिले केन्द्रीय सदस्य मनोनित गर्दा केन्द्रीय कार्यसमितिमा एक तिहाइ महिला पु¥याउनुपर्ने कुरालाई ध्यान दिनुपर्ने विधानमा उल्लेख छ ।