स्याङ्जा काङ्ग्रेसको जिल्ला सभापतिमा राजु थापा र कुमार रानाको दाबी

प्रकाशित मिति:

युवराज पौडेल । स्याङजा, भदौ  । स्याङ्जा जिल्लामा अधिवेशनको माहोल निकै तातेको छ । स्याङ्जा जिल्लामा भदौ १८ गते ९७ वटै वडाको अधिवेशन समापन भइसकेको छ भने तीमध्ये ३ वटा वडाभन्दा बाहेक सबै वडामा सर्वसम्मत उम्मेदवार चयन भएका छन् । वडा अधिवेशनको समाप्तिसँगै जिल्लाको सभापतिका लागि राजु थापा र कुमार रानाले आआफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।  पुतलीबजार ४ को वडा अधिवेशनको कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता राजु थापाले आफू जिल्ला सभापतिको उम्मेदवार रहेको कुरा बताएका छन् । उनी २०७० सालको संविधानसभामा स्याङ्जा जिल्लाको क्षेत्र नं १ बाट निर्वाचन जितेका सभासद् हुन् । पछिल्लो समय उनले राजनीतिमा आफ्नो भूमिकालाई बढाएका छन् । युवाहरुलाई अघि बढाउन र सबैलाई मिलाएर लैजान आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् ।

त्यस्तै पूर्व सभापति कमल पङ्गेनीको अकल्पनीय निधनपछि जिल्ला सभापतिको कार्यवाहक भूमिकामा रहेका कुमार रानाले पनि सामाजिक सञ्जालमार्फत् आफू स्याङ्जा जिल्ला कार्यसमितिको सभापतिका लागि सशक्त उम्मेदवार रहेको दाबी प्रस्तुत गरेका छन् । उनी जिल्ला कार्यसमितिको सचिव पदमा दुई कार्यकालसम्म काम गरेका व्यक्ति हुन् । उनले स्याङ्जाको काङ्ग्रेसलाई आफूले एकढिक्का बनाएर लैजाने बताएका छ्न ।यी बाहेक स्याङ्जा काङ्ग्रेसको जिल्ला सभापतिमा प्रकाश मल्लको पनि दाबी रहन सक्ने अनुमान भइरहेको छ । उनले औपचारिक रुपमा सभापतिमा दाबी गरिसकेको अवस्था भने छैन । हाल उनी गण्डकी प्रदेश सभामा काङ्ग्रेस संसदीय दलको सचेतक समेत छन् । उनी तरुण दलका जिल्ला अध्यक्ष समेत हुन् ।

काङ्ग्रेसको जिल्ला सभापतिमा वालिङ नगरपालिकाकी उपमेयर कल्पना तिवारी, भीरकोट नगरपालिकाका मेयर छायाराम खनालको पनि चर्चा भइरहेको छ ।यता वडा अधिवेशनको समापनसँगै क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत् आफ्नो उम्मेदवारी दावा गरिरहेका छन् । स्याङ्जा ओम भट्ट र तुलसी रेग्मीले क्षेत्र नं १ सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । प्रकाश तिवारीले प्रदेश १ ख का लागि सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । पत्रकार समाज स्याङ्जाका अध्यक्ष इन्द्र रिजालले पनि महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । नेबिसङ्घ स्याङजाका अध्यक्ष युवा नेता अजित क्षेत्रीले पनि महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबेदारी घोषणा गरेका छन् ।