काठमाडौंमा १ असोजबाट विद्यालय खोल्न पाइने

प्रकाशित मिति:

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र स्थानीय तहका प्रतिनिधिको बैठकले १ असोजबाट विद्यालय खोल्ने निर्णय गरेको हो। “स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्नसक्ने निर्णय भएको छ,” प्रमुख जिल्ला अधिकारी पराजुलीले हिमालखबरसँग भने।स्थानीय तहहरूले आ-आफ्नो क्षेत्रको अवस्था हेरेर विद्यालय खोल्नसक्ने उनले बताए। अब कोभिड(१९ को जोखिम कम भएका क्षेत्रमा स्थानीय तहले अभिभावकसँग समन्वय गरेर पठनपाठन सञ्चालन गर्न सक्नेछन्।

प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको शिक्षा समितिका प्रतिनिधिको बैठकले विद्यालय खोल्नुअघि शिक्षक र अभिभावकसँग छलफल गर्नुपर्ने निर्णय गरेको छ। उनीहरूसँगको छलफलपछि कोभिड-१९ संक्रमणको अवस्था मूल्यांकन गरेर मात्रै विद्यालय खोल्ने वा नखोल्ने निर्णय गर्नसक्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।कोभिड-१९ को दोस्रो लहर आएपछि १६ वैशाखबाट काठमाडौंमा निषेधाज्ञा जारी गरिएको थियो। त्यससँगै विद्यालय पनि बन्द भएका थिए।

१७ भदौमा जारी उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा सम्बन्धी आदेशमा विद्यालय खोल्न जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गर्नुपर्ने उल्लेख थियो। केही स्थानीय तहले संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर विद्यालय खोल्न थालेका थिए।आजको बैठकले गरेको निर्णयसँगै १ असोजबाट विद्यालय खोल्न स्थानीय तहलाई सहज भएको छ। विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको जनस्वास्थ्य मापदण्ड भने अनिवार्य रूपमा पालना गर्न गराउनुपर्नेछ।