राष्ट्रिय जनगणना २५ कात्तिकदेखि

प्रकाशित मिति:

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २५ कात्तिकदेखि ९ मंसिरसम्म गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गर्दै २५ कात्तिकदेखि ९ मंसिरसम्म जनगणना गर्ने निर्णय गरेको हो ।केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनाका लागि मिति तय गर्दै सोसम्बन्धी प्रस्तावसहित राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका मन्त्रिपरिषद्मा पठाएको थियो ।

विभागले २० भदौदेखि जनगणनाका विभिन्न काम सुरु गर्नेगरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको काम भदौबाट नै अघि बढ्ने र मूल गणना २५ कात्तिकदेखि ९ मंसिरसम्म तय भएको हो ।कार्यतालिकाअनुसार २० भदौबाट २६ भदौसम्म सुपरभाइजर भर्ना गर्ने, २७ र २८ भदौमा सुपरभाइजरलाई तालिम दिने र ३० भदौ १८ असोजसम्म सुपरभाइजरहरूले घरघरमा पुगेर सूचीकरणको काम गर्नेछन् ।त्यसपछि गणक भर्ना गरी १३ कात्तिकदेखि १६ कात्तिकसम्म तालिम दिनेछन् । उनीहरूको तालिमपछि मूल गणना हुनेछ ।

विभागका निर्देशक ढुण्डीराज लामिछाने जनगणनाको तयारी निरन्तर भइरहेको बताए । यसअघि विभागले ८ असारदेखि जनगणना गर्ने तयारी गरेको थियो । तर, कोरोना महामारीका कारण तय भएको मितिसमेत स्थगित भएको थियो ।नेपालमा १९६८ सालबाट जनगणना सुरु भएको हो । त्यसयता दोस्रोपटक तोकिएको समयमा जनगणना हुन स्थगित भएको थियो ।२००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो । त्यसपछि महामारीका कारण अहिले दोस्रोपटक जनगणनाको कार्यतालिका प्रभावित भएको हो ।