एमाले सांसदको नाराबाजीबीच प्रतिनिधिसभाको राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल

प्रकाशित मिति:

काठमाडौं, भदौ २३ । एमाले सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाको तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको छ । बुधबार सुरु भएको संसदको नवौँ अधिवेशनमा प्रतिनिधिसभाका दुईवटा बैठक एमाले सांसदले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजीका कारण स्थगित भएका थिए । १५ मिनट स्थगित भएर सुरु भएको तेस्रो बैठकमा सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाणलाई राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेश टेबल गर्न अनुमति दिएका थिए ।

मर्यादापालकको सुरक्षामा रोस्ट्रमा पुगेर मन्त्री खाणले अध्यादेश टेबल गरेका हुन् । केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने गरी सरकारले अध्यादेश ल्याएको थियो । सोही अध्यादेशलाई आधार बनाएर एमालेबाट विभाजित भई नेकपा एकीकृत समाजवादी र जसपाबाट विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएका थिए । अध्यादेश टेबल भएपछि सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक २५ भदौसम्मका लागि स्थगित गरेका छन् ।